दफा ८२
विरोध गर्न सकिने
(१) सैनिक अदालतमा पुर्पक्षको लागि मुद्दा पेश भएपछि सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूको नाम अभियुक्तलाई सुनाइनेछ र अध्यक्ष तथा कुनै सदस्यको सम्बन्धमा विरोध भए नभएको वारेमा अभियुक्तसँग सोधिनेछ ।
(२) उपदफा (१) बमोजिम अभियुक्तले अध्यक्ष तथा कुनै सदस्यको सम्बन्धमा विरोध जनाएमा सोको कारण र विरोध जनाइएका अध्यक्ष तथा सदस्यले दिएको जवाफ समेतको अभिलेख खडा गर्नु पर्नेछ । विरोध नगरिएका अध्यक्ष तथा सदस्यले विरोध गरिएका अध्यक्ष तथा सदस्यको अनुपस्थितिमा त्यस्तो विरोधको विषयमा छलफल गरी निर्णय गर्नु पर्नेछ ।
(३) कम्तीमा पचास प्रतिशत सदस्यले अभियुक्तको विरोधलाई स्वीकार गरेमा विरोध गरिएको अध्यक्ष वा सदस्यको स्थान रिक्त हुनेछ । रिक्त स्थानमा अर्को अधिकृत मुकर्रर गर्नु पर्नेछ र नयाँ मुकर्रर भएका अध्यक्ष तथा सदस्यको सम्बन्धमा पनि उपदफा ( १) बमोजिम पुन विरोधको प्रक्रिया अपनाउनु पर्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम विरोधको प्रक्रिया सम्पन्न भएपछि सैनिक अदालतले मुद्दाको पुर्पक्ष शुरु गर्नेछ ।