दफा १०४
सद्दे किर्तेमा बयान गराउनु पर्ने
(१) प्रमाण बुझ्न तोकिएको तारिखमा वादीले पेश गरेको प्रमाणको कागज प्रतिवादीलाई र प्रतिवादीले पेश गरेको प्रमाणको कागज वादीलाई सक्कलै देखाई सुनाई निजले त्यस्तो कागजलाई सद्दे, किर्ते वा जालसाजी नामाकरण गरेमा अदालतले सोही व्यहोराको बयान गराई अभिलेख गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम देखाउँदा वा सुनाउँदा तत्काल सद्दे, कीर्ते वा जालसाजी छुट्याउन नसक्ने भई कुनै पक्षले म्याद माग गरेमा अदालतले तीन दिनसम्मको म्याद दिनु पर्नेछ ।
(३) मुद्दाको पक्ष बाहेक अरुको सहीछाप परेको कागज पेश भएमा तत्काल सद्दे, किर्ते वा जालसाजी छुट्‍याई नामाकरण गर्न नसक्ने भई मुद्दाका कुनै पक्षले म्याद मागेमा प्रमाण सहित सद्दे, किर्ते वा जालसाजीमा बयान गर्न पन्ध्र दिनसम्मको म्याद दिन सकिनेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको म्यादभित्र बयान गर्ने व्यक्तिले सद्दे, किर्ते वा जालसाजी जे नामाकरण गर्दछ अदालतले सोही अनुरुप बयान गराई अभिलेख गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम बयान गराउँदा कुनै पक्षले त्यस्तो लिखत किर्ते वा जालसाजी हो भन्ने बयान गरेमा अदालतले सो दिन मुद्दाका सबै पक्षहरू हाजिर रहेको भए निजहरूको सोही दिन र कुनै पक्ष हाजिर नरहेको भए त्यस्तो पक्षको हकमा त्यसपछि हाजिर भएकै दिन बयान गराउनु पर्नेछ ।
(६) वारिस वा कानून व्यवसायी तारिखमा रहेको मुद्दामा सम्बन्धित पक्षलाई नै झिकाउनु आवश्यक देखिएमा अदालतले त्यस्तो पक्षलाई झिकाई निजको बयान गराउनु पर्नेछ ।
(७) यस दफा बमोजिम प्रमाणको कागज देखाउँदा वा सुनाउँदा सम्बन्धित पक्षले सद्दे, कीर्ते वा जालसाजी छुट्‍याउन नसक्ने भएमा अदालतले त्यस्तो प्रमाणको कागज जाँच गर्न सम्बन्धित विशेषज्ञ समक्ष पठाउन सक्नेछ ।