दफा ६१
समाह्वानको तामेली
(१) समाह्वान तामेल गर्न पठाउदा तीन प्रति समाह्वान पूर्जी दिई कुनै प्रहरी कर्मचारी, अदालतको कुनै कर्मचारी वा अदालतले तोकेको अन्य कुनै सरकारी कार्यालयद्वारा तामेल गराउन पठाउनु पर्नेछ ।
(२) यस संहिता बमोजिम जारी भएको समाह्वान जुन व्यक्तिको नाममा जारी भएको हो यथासम्भव सोही ब्यक्तिलाई बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम समाह्वान बुझाउन जाँदा सम्बन्धित ब्यक्ति फेला नपरेमा वा फेला परे पनि निजले बुझी नलिएमा निजको एकाघरको कम्तीमा अठार वर्ष उमेर पुगिसकेको कुनै ब्यक्तिलाई बुझाउन सकिनेछ ।
(४) उपदफा (३) बमोजिम सम्बन्धित ब्यक्ति वा एकाघरका ब्यक्ति फेला नपरेमा वा फेला परेमा पनि निजले वा निजको एकाघरका ब्यक्तिले समेत बुझी नलिएमा स्थानीय तहको सम्बन्धित वडाको सदस्य एक जना र कम्तीमा दुई जना स्थानीय ब्यक्ति समेत राखी आफ्नाे तथा निजहरुको समेत सहीछाप गराई एक प्रति निजको घर दैलामा टाँसी एक प्रति म्याद सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बुझाई एक प्रति तामेली समाह्वान अदालतमा दाखिला गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम प्राप्त भएको समाह्वान बमोजिमको सूचना स्थानीय तहको सम्बन्धित वडा कार्यालयले आफ्नो सूचना पाटीमा टांँस गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम समाह्वान जारी गरिएको ब्यक्तिको समाव्हानमा उल्लिखित ठेगानामा बसोबास नभएको भन्ने कुरा स्थानीय तहको सम्बन्धित वडा समितिको कम्तीमा एक जना सदस्य र कम्तीमा दुई जना स्थानीय ब्यक्तिहरुले प्रमाणित गरेमा निजको बसोबास भएको ठेगाना खुल्न सक्ने भए खुलाई र खुल्न नसक्ने भए सोही व्यहोरा जनाई समाह्वान अदालतमा फिर्ता बुझाई दिनु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम समाह्वान फिर्ता भएकोमा अदालतले निज बसोबास गरेको ठाउँमा वा ठाउँ नखुलेमा वादी पक्षलाई समेत बुझी आवश्यकता अनुसार ठेगाना खुलाई अर्को समाह्वान जारी गर्नेछ ।
(८) नेपाल सरकार वा कुनै सङ्गठित संस्थाको पदाधिकारी वा कर्मचारीका नाममा समाह्वान तामेल गर्नु परेमा त्यस्तो पदाधिकारी वा कर्मचारी वहाल रहेको कार्यालयमा समाह्वान तामेल गर्न सकिनेछ ।
(९) उपदफा (८) बमोजिम कुनै समाह्वान तामेल गर्न पठाएकोमा त्यस्तो कार्यालय वा संस्थाको तत्काल उपलब्ध भएको प्रमुखले एक प्रति समाह्वान सम्बन्धित पदाधिकारी वा कर्मचारीलाई बुझाई अर्को प्रतिमा तामेलीको व्यहोरा र मिति जनाई सम्भव भएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीको सहीछाप गराई अदालतमा फिर्ता पठाउनु पर्नेछ ।
(१०) उपदफा (९) बमोजिम समाह्वान तामेल हुन नसकेमा सम्बन्धित कार्यालय वा संस्थाको सूचना पाटीमा त्यस्तो समाह्वान टाँसी दिनु पर्नेछ । यसरी सूचना पाटीमा टाँसिएको प्रतिवेदन सम्बन्धित अदालतमा दिनु पर्नेछ ।
(११) उपदफा (८) बमोजिम समाह्वान तामेल गर्दा त्यस्तो पदाधिकारी वा कर्मचारी बिदामा रहेकोमा सम्बन्धित कार्यालय वा संस्थाले यथाशीघ्र त्यस्तो कर्मचारीलाई त्यसरी समाह्वान तामेल भएको व्यहोराको सूचना दिनु पर्नेछ ।
(१२) कुनै सङ्गठित संस्थाको नाममा समाह्वान तामेल गर्नु परेमा त्यस्तो समाह्वानको एक प्रति त्यस्तो संस्थाको प्रधान वा स्थानीय कार्यालयमा बुझाई सोकोे भरपार्ई अदालतमा बुझाउनु पर्नेछ ।
(१३) उपदफा (१२) बमोजिम स्थानीय कार्यालयमा समाह्वान तामेल भएकोमा सो समाह्वान त्यस्तो संस्थाको प्रधान कार्यालयमा तामेल भएको मानिनेछ ।
(१४) यस दफा बमोजिम समाह्वान तामेल गर्दा तामेल भएको मिति र व्यहोरा उल्लेख गरी तामेल गर्ने कर्मचारीले अदालतमा प्रतिवेदन दिनु पर्नेछ ।
(१५) कुनै अदालतले आफ्नाे क्षेत्रभन्दा बाहिरको अन्य कुनै क्षेत्रमा बसोबास गरिरहेको कुनै ब्यक्तिलाई समाह्वान तामेल गर्नु पर्ने भएमा त्यस्तो क्षेत्रको अदालतमा समाह्वान पठाई सो अदालत मार्फत तामेल गराउनु पर्नेछ र त्यस्तो अदालतले पनि यस परिच्छेद बमोजिम समाह्वान तामेल गराई त्यसको एक प्रति समाह्वान जारी गर्ने अदालतमा फिर्ता पठाइदिनु पर्नेछ ।
(१६) यस दफा बमोजिम समाह्वान तामेली गर्दा अभियुक्तलाई दफा ५७ को उपदफा (७) बमोजिम पठाइएको सूचना पनि समाह्वान साथै बुझाउन वा अवस्थाअनुसार घर दैलोमा टाँस्नु पर्नेछ ।