दफा १२
समितिको काम, कर्तव्य र अधिकार
: (१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क)    सुरक्षित निक्षेप र त्यस्तो निक्षेपको शोधभर्ना सम्बन्धी नीतिगत निर्णय गर्ने,
(ख)    कोषको प्रशासन, व्यवस्थापन, वित्तीय सम्पत्तिको लगानी सम्बन्धी नीतिगत निर्णय र कोषको वित्तीय स्रोतको लगानी प्रत्यक्ष रुपमा गर्ने वा गराउने,
(ग)     सुरक्षित सदस्य संस्थाको सदस्यता प्रदान गर्ने वा सदस्यताबाट हटाउने सम्बन्धमा निर्णय गर्ने,
(घ)    शोधभर्ना प्रक्रिया सम्बन्धी निर्णय गर्ने,
(ङ)     सुरक्षित सदस्य संस्थाबाट सुरक्षित निक्षेपमा प्रारम्भमा लिइने योगदान, विशेष योगदान र वार्षिक सुरक्षण शुल्क सम्बन्धमा निर्णय लिने,
(च)    सुरक्षित सदस्य संस्था तथा सदस्य संस्थाले सुरक्षण गरेका कर्जा तथा पशुधन सुरक्षण कार्यक्रमको पुनरावलोकन र सुरक्षण शुल्क विषयमा निर्णय लिने,
(छ)    शोधभर्ना लिने वा दिने सम्बन्धी आवश्यक निर्णय गर्ने,
(ज)    सुरक्षित सदस्य संस्थाको अनुगमन तथा कारबाही सम्बन्धमा निर्णय गर्ने,
(झ)    क्षतिपूर्ति भुक्तानी प्रक्रिया अन्तर्गत एजेन्सी बैङ्क छनौटका मापदण्ड तथा आधारहरू तोक्ने,
(ञ)    कोषको चुक्ता पूँजी वृद्धि गर्न कर्जा तथा अनुदान सम्बन्धी प्रस्ताव स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्ने,
(ट)     आवधिक रुपमा निक्षेप सुरक्षणको सीमा रकम, निक्षेप सुरक्षण दायरा र निक्षेप सुरक्षणसँग सम्बन्धित प्रस्ताव स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्ने,
(ठ)    कोषको आन्तरिक र बाह्य लेखा परीक्षणको प्रतिवेदन स्वीकृत गर्ने,
(ड)     कोषको आय व्ययको विवरण, संगठनात्मक ढाँचा र कर्मचारीहरूको तलव, भत्ता निर्धारण गर्ने,
(ढ)     मध्यम तथा दीर्घकालीन रणनीतिक विकास योजना, जनचेतनामूलक कार्यक्रम, निक्षेपकर्ताको हक तथा सरोकारवालाहरूको संरक्षण सम्बन्धी प्रतिवेदन र सुझावहरू पारित गर्ने,
(ण)    समान उद्देश्य भएका स्वदेशी तथा विदेशी संस्थाहरुसँग सूचनाको आदान प्रदान तथा पारस्परिकताको आधारमा सहयोग र सम्झौता गर्ने तथा सो बमोजिम कार्य गर्ने,
(त)     कुनै पनि सुरक्षित सदस्य संस्थाको रुपान्तरण, प्राप्ति तथा वित्तीय लिक्विडेसन, लिक्विडेसन र खारेजीको प्रक्रियामा कोषको सहभागिता बारे निर्णय गर्ने,
(थ)    वित्तीय संकट तथा प्रणालीगत जोखिम रोकथाम र व्यवस्थापन गर्न बनाइने आकस्मिक योजनामा कोषको सहभागिताको विषयमा निर्णय गर्ने, र
(द)     कोषको उद्देश्य पूर्तिका लागि आवश्यक पर्ने अन्य कार्यहरु गर्ने ।