दफा २८
समितिको बैठक
(१) समितिको बैठकको अध्यक्षता गभर्नरले गर्नेछ । (२) समितिको बैठक बैंकको आवश्यकता अनुसार बस्न सक्नेछ । तर महिनाको कम्तीमा एकपटक समितिको बैठक बस्नु पर्नेछ । (३) समितिको बैठक गभर्नरले बोलाउने छ । तर समितिका तीनजना सञ्चालकले समितिको बैठक बोलाउन लिखित अनुरोध गरेमा गभर्नरले समितिको बैठक बोलाउनु पर्नेछ । (४) समितिले समितिको बैठक बोलाउने, सञ्चालन गर्ने, मतदान गर्ने, माइन्युट राख्ने तथा अन्य कार्यविधिका सम्बन्धमा एउटा छुट्टै विनियम बनाउन सक्नेछ । (५) समितिको बैठकको अध्यक्षता गर्ने व्यक्ति र कम्तिमा तीन जना सञ्चालकको उपस्थिति भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने छ । तर तीनजना सञ्चालक मध्ये एकजना दफा १४ को खण्ड (घ) बमोजिमको सञ्चालक हुनु अनिवार्य हुनेछ । (६) बहुमतको निर्णय समितिको निर्णय मानिनेछ । कुनै प्रस्तावको पक्ष र विपक्षमा मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।