नियम १३क
सिफारिस पेश गर्नु पर्नेः

(१) नियम १०क. बमोजिम आरक्षित गरिएको स्थानमा उम्मेदवार हुन चाहने देहायका व्यक्तिले नियम १३ बमोजिम दरखास्त बुझाउंँदाका बखत आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी देहाय बमोजिमको निकायको सिफारिस पेश गर्नु पर्नेछः–

(क) अपाङ्गले राष्ट्रिय अपाङ्ग महासंघ वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,

(ख) जनजातिले आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,

(ग) दलितले राष्ट्रिय दलित आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,

(घ) पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट,

(ङ) मधेशी समुदायको व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,

(च) मुस्लिम समुदायको व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,

(छ) बेपत्ता पारिएका व्यक्ति वा शहिद परिवार तथा घाईते वा निजको सन्ततीले गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट ।

(२) उपनियम (१) को खण्ड (घ) बमोजिम पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिस पेश गर्दा निज दरखास्त दिदाका वखत सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ र त्यस्तो व्यक्तिले पिछडिएको दुर्गम क्षेत्रमा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १०क. बमोजिम आरक्षित गरिएको स्थानमा उम्मेदवार हुन चाहने व्यक्तिले नियम १३ बमोजिम दरखास्त बुझाउने समयमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले विपन्नको कारण खुलाई अनुसूची–१ख.
को ढाँचामा गरेकोे सिफारिस पेश गर्नु पर्नेछ ।

(४) अपाङ्गता भएका व्यक्ति वा घाईतेले चिकित्साशास्त्र वा इन्जिनियरिङ्ग विषय अध्ययन गर्न दरखास्त दिने भएमा उपनियम (१) को खण्ड (क) बमोजिमको सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम छ भनी लेखिदिएको सिफारिस समेत दरखास्त साथ पेश गर्नु पर्नेछ ।