दफा ३८
सुरक्षण कोष
: (१) निक्षेप र कर्जा सुरक्षण सम्बन्धी कार्यको लागि कोषमा देहाय बमोजिमका छुट्टाछुट्टै कोष रहने छन् :-
(क)  निक्षेप सुरक्षण कोष, र
(ख)  कर्जा सुरक्षण कोष ।
(२) उपदफा (१) को खण्ड (क) बमोजिमको निक्षेप सुरक्षण कोषमा देहाय बमोजिमका रकम रहनेछन् :-
(क)  कोषको चुक्ता पूँजीमध्ये समितिले तोकेको रकम,
(ख)  सुरक्षित सदस्य संस्थाले भुक्तानी गरेको प्रारम्भिक योगदान र विशेष योगदान बापतको रकम,
(ग)   सुरक्षित सदस्य संस्थाले भुक्तानी गरेको वार्षिक सुरक्षण शुल्क,
(घ)   सुरक्षित सदस्य संस्थाले भुक्तानी गरेको विलम्ब शुल्क र जरिबाना बापतको रकम,
(ङ)   विदेशी सरकार, निकाय वा व्यक्तिले प्रदान गरेको ऋण, अनुदान, चन्दा, सहायता रकम,
(च)   निक्षेप सुरक्षण कोषको वित्तीय सम्पत्तिको लगानीबाट प्राप्त हुने आय,
(छ)   शोधभर्ना बापत प्राप्त रकम, र
(ज)   नेपाल सरकारबाट प्राप्त रकम ।
(३) उपदफा (१) को खण्ड (ख) बमोजिमको कर्जा सुरक्षण कोषमा देहाय बमोजिमका रकम  रहनेछन् :-
(क)  कोषको चुक्ता पूँजीमध्ये समितिले तोकेको रकम,
(ख)  कर्जा सुरक्षण कार्यक्रममा सहभागी हुने सदस्य संस्थाले बुझाउने शुल्क,
(ग)   कर्जा सुरक्षण बापत ऋणीले बुझाउने शुल्क,
(घ)   कर्जा सुरक्षण शुल्क बापत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम,
(ङ)   कर्जा सुरक्षण कोषको वित्तीय सम्पत्तिको लगानीबाट प्राप्त हुने आय,
(च)   विदेशी सरकार, निकाय वा व्यक्तिले प्रदान गरेको ऋण, अनुदान, चन्दा र सहायता रकम, र
(छ)   नेपाल सरकारबाट प्राप्त रकम ।
(४) उपदफा (२) को खण्ड (ङ) र उपदफा (३) को खण्ड (च) बमोजिमको रकम प्राप्त गर्नु अगाडि कोषले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(५) कोषले उपदफा (२) र (३) अन्तर्गत प्राप्त हुने रकम नेपाल राष्ट्र बैङ्कमा छुट्टाछुट्टै खाता खोली राख्नु पर्नेछ ।