दफा १३
हिरासतमा राख्ने
(१) यस परिच्छेद बमोजिम पक्राउ भएको ब्यक्तिलाई हिरासतमा राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हिरासतमा राख्दा त्यस्तो ब्यक्तिलाई पक्राउ गरिएको ठाउँ उल्लेख गरी हिरासतमा राख्नुपर्ने कारण सहितको अनुसूची–१० बमोजिमको ढाँचामा थुनुवा पूर्जी दिएर मात्र हिरासतमा राख्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम कुनै ब्यक्तिलाई हिरासतमा राखिएकोमा निजको नाम, थर, उमेर, टोल सहितको ठेगाना, बाबु, आमाको नाम, निजको नागरिकताको प्रमाणपत्र वा निजको पहिचान खुल्ने अन्य परिचयपत्र भए त्यस्तो प्रमाणपत्र वा परिचयपत्र र नभए सवारी चालक इजाजतपत्र, राहदानी, निजको टेलिफोन भए टेलिफोन नम्बर लगायत निजको वास्तविक परिचय खुल्ने यस्तै कागजातको प्रतिलिपि समेत लिई निजको अभिलेख तयार गर्नु पर्नेछ ।
(४) उपदफा (३) को प्रयोजनको लागि अनुसन्धान अधिकारीले आवश्यकता अनुसार निजको तस्वीर र दुवै हातको हत्केला सहितको औँठा छाप समेत लिन सक्नेछ ।
(५) उपदफा (३) बमोजिम अभिलेख तयार भएपछि सम्बन्धित प्रहरी कार्यालय वा अनुसन्धान अधिकारीले त्यस्तो अभिलेखको आधारमा हिरासतमा रहेको ब्यक्तिले जानकारी दिन अनुरोध गरेको ब्यक्तिलाई निज हिरासतमा रहेको जानकारी दिनु पर्नेछ ।
(६) यस दफा बमोजिम पक्राउ गरिएको ब्यक्तिले कानून व्यवसायीसँग सल्लाह लिन चाहेमा अनुसन्धान अधिकारीले निजलाई त्यस्तो कानून व्यवसायीसँग सल्लाह लिन दिनु पर्नेछ ।