दफा १२८
होस ठेगानमा नरहेका ब्यक्तिको कारबाही सम्बन्धी व्यवस्था
(१) कुनै अभियुक्त होस ठेगानामा नरहेको कारणले आफ्नाे प्रतिरक्षा गर्न असमर्थ छ भन्ने विश्वास गर्नुपर्ने कुनै मनासिब कारण भएमा अदालतले इजाजतप्राप्त चिकित्सकद्वारा निजको जाँच गराई उपचार गराउन समेत आदेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँच गराउँदा अभियुक्त मानसिक अस्वस्थताको कारणले आफ्नाे प्रतिरक्षा गर्न असमर्थ देखिएमा त्यसको आदेश पर्चा खडा गरी निजको हकमा मुद्दा मुलतवी राख्नु पर्नेछ ।
(३) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तोे अभियुक्त थुनामा रहेको भए उपदफा (१) बमोजिम कारबाही हुँदाका बखत वा त्यस्तो कारबाही भै उपदफा (२) बमोजिमको आदेश पर्चा खडा भएपछि अदालतले मनासिब सम्झेमा निजलाई थुनाबाट छोड्न आदेश दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम अभियुक्तलाई छोड्दा अदालतले निजको संरक्षकबाट त्यस्तो अभियुक्तले कसैलाई कुनै प्रकारको हानि, नोक्सानी पु¥याउन नपाउने गरी निजको हेरचाह गर्ने र निज स्वस्थ भएपछि अदालतले आदेश दिएका बखत निजलाई अदालतमा उपस्थित गराउने शर्त गराउनु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम थुनाबाट छोड्दा अदालतले चाहेमा संरक्षकसँग परिच्छेद–७ बमोजिम धरौट वा जमानत लिन सक्नेछ ।
(६) पुर्पक्षका लागि थुनामा रहेको होस ठेगानामा नरहेको अभियुक्तलाई उपदफा (३) बमोजिम थुनाबाट छोडिएको अवस्थामा बाहेक अन्य अवस्थामा विशेष हेरविचार गर्न सम्बन्धित कारागारलाई अदालतले आदेश दिनु पर्नेछ ।
(७) होस ठेगानामा नरहेको अभियुक्तको मुद्दा उपदफा (२) बमोजिम मुलतवी रहेकोमा त्यस्तो अभियुक्त स्वस्थ भएपछि अदालतले मुलतवी जगाई निजलाई अदालतमा उपस्थित गराई मुद्दाको पुर्पक्ष शुरु गर्नु पर्नेछ ।
तर त्यसरी मुलतवी जगाउनुभन्दा पहिले अदालतले त्यस्तो अभियुक्तलाई पुन इजाजत प्राप्त चिकित्सकद्वारा जाँच्न लगाई त्यस्तो चिकित्सकले अभियुक्त स्वस्थ भै सकेको छ भन्ने व्यहोरा प्रमाणित गरेको हुनु पर्नेछ ।
(८) उपदफा (१) वा (७) बमोजिम स्वस्थता प्रमाणित गर्ने चिकित्सकलाई अदालतले चाहेमा साक्षीको रुपमा उपस्थित हुन आदेश दिन सक्नेछ ।
(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि होस ठेगानामा नरहेको ब्यक्तिसँग अरु ब्यक्तिहरु पनि प्रतिवादी रहेछन भने त्यस्ता प्रतिवादीको हकमा मुद्दाको सुनुवाइ गर्न बाधा पुगेको मानिने छैन ।