अनुसूची

अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेशन
प्रस्ताव नं.
नेपाललाई कर्पोरेशनको सदस्यता

कर्पोरेशन सम्झौताको धारा २ को दफा १(ख) बमोजिम नेपाल सरकार नेपालले अन्तराष्ट्रिय फाइनान्स कर्पोरेशनको सदस्यताको लागि निवेदन दिएको, र

कर्पोरेशनको बाईलजको दफा १७ बमोजिम कार्यकारी सञ्चालकहरूले नेपालका प्रतिनिधिहरूसँग परामर्श गरी यस निवेदनपत्र बारे गभर्नरहरूको बोर्डमा सिफारिस पेश गरेकोले,

गभर्नरहरूको बोर्डले देहायको शर्त र अवस्थाहरूमा नेपाललाई कर्पोरेशनको सदस्यतामा प्रवेश
गराउने प्रस्ताव गरेको छ :–

१. परिभाषा : यो प्रस्तावमा प्रयोग गरिएबमोजिको :–

(क) “कर्पोरेशन” भन्नाले अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेशन सम्झनुपर्छ ।

(ख) “धाराहरू” भन्नाले कर्पोरेशनको सम्झौताको धाराहरू सम्झनुपर्छ ।

(ग) “डलर” भन्नाले संयुक्त राज्य अमेरिकाको डलर सम्झनुपर्छ ।

(घ) “चन्दा” भन्नाले सदस्यले कर्पोरेशनको क्यापिटल स्टकमा दिएको चन्दा सम्झनुपर्छ ।

(ङ) “सदस्य” भन्नाले कर्पोरेशनको सदस्य सम्झनुपर्छ ।

२. चन्दा : कर्पोरेशनको सदस्यता स्वीकार गरेपछि नेपालले कर्पोरेशनको क्यापिटल स्टकको ५५ वटा शेयर चन्दा स्वरूप बुझाउनु पर्दछ र त्यस्तो प्रत्येक शेयरको मूल्य १००० डलर हुनेछ ।

३. बैङ्कको सदस्यता : कर्पोरेशनको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपाल अन्तर्राष्ट्रिय पनुःनिर्माण एवं विकास बैङ्कको सदस्य भएको हुनुपर्दछ ।

४. चन्दाको भुक्तानी : कर्पोरेशनको सदस्यता प्राप्त गर्नुभन्दा पहिले कर्पोरेशनलाई नेपालले लिएको क्यापिटल स्टकको शेयर सुनमा वा सो बापत दिनुपर्ने ५५,००० डलरको पूरै भुक्तानी दिनुपर्दछ ।

५. जाहेरी र सूचना : कर्पोरेशनको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले स्वीकृतिको लिखतलाई हस्ताक्षर गरी दाखिल गर्न र यस प्रस्तावको प्रकरण ६(ग) र (घ) मा लेखिएबमोजिमको धाराहरूमा हस्ताक्षर गर्न आवश्यक सबै काम कारवाही गरिसकेको छ भन्ने
कुराको जाहेरी कर्पोरेशनलाई पठाउनु पर्दछ । कर्पोरेशनले ती काम कारवाहीको सम्बन्धमा अनुरोध गरेबमोजिमको सूचना नेपालले कर्पोरेशनलाई पठाउनु पर्दछ ।

६. सदस्यता स्वीकार गर्ने : नेपालले निम्नलिखित आवश्यकताहरू पूरा गरेको मितिमा यो प्रस्तावको प्रकरण २ मा लेखिएबमोजिमको चन्दा दिएपछि नेपाल कर्पोरेशनको सदस्य हुनेछः–

(क) यो प्रस्तावको प्रकरण ४ बमोजिमको रकम भुक्तानी गरी,

(ख) यो प्रस्तावको प्रकरण ५ बमोजिमको जाहेरी र सूचना पठाई,

(ग) नेपालले आफ्नो कानून अनुसार यो प्रस्तावमा लेखिएबमोजिमका सबै शर्त र अवस्थाहरू र धाराहरू स्वीकार गरेको छ । र धाराहरू यो प्रस्ताव अन्तर्गत आफ्नो सबै दायित्वहरू पूरा गर्नको लागि नेपालले आवश्यक सबै कदमहरू उठाई सकेको छ भन्ने जाहेरीको लिखत अन्तर्राष्ट्रिय पुननिर्माण एवं विकास बैङ्कमा दाखिल गरी, र

(घ) अन्तर्राष्ट्रिय पुननिर्माण एवं विकास बैङ्कमा रहेको धाराहरूको मूल प्रतिलिपिमा हस्ताक्षर गरी ।

७. सदस्यता स्वीकार गर्ने हद अवधि : नेपालले सन्१९६५ मार्च ३१ सम्म यो प्रस्तावबमोजिम कर्पोरेशनको सदस्यता स्वीकार गर्न सक्नेछ । तर असाधारण परिस्थितिले गर्दा यो प्रस्तावबमोजिम सदस्यता स्वीकार गर्न सक्ने हद अवधि बढाउन पर्ने भनी कार्यकारी सञ्चालकहरूले देखेमा सो अवधिलाई बढाउन सक्नेछ ।