अनुसूची

अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेशनको सम्झौताको धाराहरूको धारा ६ स्थिति, छुट, विशेषाधिकारहरू

दफा १ उद्देश्यः कर्पोरेशनलाई सुम्पेको काम पूरा गर्न कर्पोरेशन सामथ्र्य बनाउन यो धारामा दिइएका स्थिति, छुट र विशेषधिकारहरू प्रत्येक सदस्यको प्रादेशिक क्षेत्रमा कर्पोरेशनलाई दिइनेछ ।

दफा २– कर्पोरेशनको स्थितिः कर्पोरेशनको कानूनी मान्यता प्राप्त व्यक्ति हुनेछ र कर्पोरेशनलाई विशेषतः देहायको कम गर्न अधिकार हुनेछः–

(१) ठेक्का लिने दिने,

(२) चल अचल सम्पत्ति प्राप्त गर्ने वा विक्री गर्ने,

(३) कानूनी कारवाही गर्ने ।

दफा ३– अदालती कारवाहीको सम्बन्धमा कर्पोरेशनको स्थानः  कर्पोरेशनले आफ्नो कार्यालय भएका वा सेवा सूचना स्वीकार गर्नका लागि कर्पोरेशनले एजेण्ट नियुक्ति गरेको वा सिक्योरिटीहरू निकालेको वा ग्यारेण्टी गरेको कुनै सदस्यको प्रादेशिक क्षेत्रमा कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मात्र कर्पोरेशन विरुद्ध कारवाही चलाउन सकिनेछ । सदस्यहरूले वा सदस्यहरूको निमित्त काम गर्ने व्यक्तिहरूले वा सदस्यहरूबाट दावी लिने व्यक्तिहरूले कुनै कारवाही चलाउन सक्ने छैन । कर्पोरेशनको सम्पत्ति र जायजेथालाई जहाँसुकै रहेको वा जोसित रहेको भएपनि कर्पोरेशनको विरुद्ध अन्तिम फैसला हुनुभन्दा अघि पक्राउ, कब्जा वा कुर्किबाट छुट दिइनेछ ।

दफा ४ –जायजेथा पक्राउ हुनबाट छुट : कर्पोरेशनको सम्पत्ति र जायजेथालाई जहाँसुकै रहेको वा जोसित रहेपनि कार्यकारिणी वा कानूनी कारवाहीद्वारा खोज तलासी, अधिग्रहण, अपहरण, निस्वामीकरण वा अरू कुनै किसिमको पक्राउबाट छुट पाउनेछ ।

दफा ५ –अभिलेख गृह (आर्चिभ्स) सम्बन्धी छुट : कर्पोरेशनको अभिलेख गृह (आर्चिभ्स) भित्र दखल गर्न सकिने छैन ।

दफा ६– जायजेथामा प्रतिबन्ध नलाग्नेः  यस सम्झौताले दिएको कार्य सञ्चालन गर्न आवश्यक भएको हदसम्म र यस सम्झौताको धारा ३ दफा ५ र अन्य व्यवस्थाहरूको अधीनमा रही कर्पोरेशनका सबै सम्पत्ति र जायजेथामा कुनै किसिमको प्रतिबन्ध, नियम, नियन्त्रण र मोराटोरिया लाग्ने छैन ।

दफा ७–लेखापढी गर्न विशेषाधिकारः  सदस्यहरूले कर्पोरेशनको अफिसियल लेखापढीलाई अरू सदस्यहरूको अफिसियल लेखापढीलाई सरह नै व्यवहार गर्नेछन्।

दफा ८– कार्यालय र कर्मचारीहरूको निमित्त छुट र विशेषाधिकारहरूः  कर्पोरेशनको सबै गर्भनरहरू, सञ्चलाकहरू, अल्टरनेटहरू, अधिकृतहरू र कर्मचारीहरूले–

(१) अफिसियल हैसियतले गरेको काम कार्यहरूमा कानूनी कारवाहीबाट छुट पाउने छन्।

(२) स्थानीय नागरिक नभएमा देशान्तरबाससम्बन्धी प्रतिबन्धहरू, विदेशीहरूको रजिष्ट्रशनसम्बन्धी आवश्यकताहरू, राष्ट्रिय सेवासम्बन्धी दायित्वहरूबाट छुट र विनिमय प्रतिवन्धसम्बन्धी सुविधाहरू सदस्यहरूले अरू सदस्यहरूको सोही समान दर्जाको प्रतिनिधिहरू, अधिकारीवर्गहरू र कर्मचारीहरूलाई दिए सरह नै पाउने छन्।

(३) सदस्यहरूले अरू सदस्यहरूको सोही समान दर्जाको प्रतिनिधिहरू, अधिकारीवर्गहरू र कर्मचारीहरूलाई दिए सरह नै भ्रमण सुविधा पाउने छन्।

दफा ९– करबाट छुटः

(क) कर्पोरेशन, यसको जायजेथा, सम्पत्ति, आम्दानी र यो सम्झौताद्वारा अधिकृत यसको सञ्चालन र कारोबारहरूले सबै कर र सबै भन्सार महसृलबाट छुट पाउनेछ । कुनै कर वा महसुल असूल वा भुक्तानी गर्ने दायित्वबाट पनि कर्पोरेशनले छुट पाउनेछ ।

(ख) स्थानीय नागरिक, स्थानीय प्रजा वा अरू स्थानीय राष्ट्रिय नभएको कर्पोरेशनको कार्यकारी सञ्चालकहरू, अल्टरनेटहरू, अधिकारीवर्गहरू वा कर्मचारीहरूलाई कर्पोरेशनले दिने तलव र परिलाभमा कुनै पनि कर लिइने छैन ।

(ग) कर्पोरेशनले निकालेको दायित्व वा सिक्योरिटी (त्यसको लाभांश वा व्याज लगायतमा) जोसित रहेको भएपनि कुनै किसिमको कर लिइने छैन ।

(१) यदि त्यसले सो दायित्व वा सिक्योरिटीलाई मात्र कर्पोरेशनद्वारा निकालिएको कारणले फरक व्यवहार गरेको छ भने, वा

(२) यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकारसम्बन्धी आधार सो दायित्व वा सिक्योरिटी निकालिएको वा भुक्तानी गर्नुपर्ने गरिएको वा भुक्तानी गरिएको ठाउँ वा मुद्रा वा कर्पोरेशनले राखेको कुनै कार्यालय वा कारोबारको स्थान भएमा ।

(घ) कर्पोरेशनले ग्यारेण्टी दिएको कुनै दायित्व वा सिक्योरिटी (त्यसको लाभांश र ब्याज लगायतमा) जोसित रहेको भएपनि कुनै किसिमको कर लिइने छैनः–

(१) यदि त्यसले सो दायित्व वा सिक्योरिटीलाई कर्पोरेशनले ग्यारेण्टी गरेको कारणले व्यवहार गरेको छ भने, वा

(२) यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकारसम्बन्धी आधार कर्पोरेशनले राखेको कुनै कार्यालय कारोबारको स्थान भएमा ।

दफा १०– धाराको प्रयोगः प्रत्येक सदस्यले यो धारामा दिइएको सिद्धान्तहरू आफ्नो कानून मुताविक लागू गराउने उद्देश्यको निमित्त आफ्नो प्रादेशिक क्षेत्रभित्र आवश्यकतानुसारको कार्य गर्नेछ र आपूले गरेको कामको पूरा विवरणको सूचना कर्पोरेशनलाई दिनेछ ।

दफा ११ –परित्यागः कर्पोरेशनले आफ्नो स्वविवेकमा यो धारा अन्तर्गत प्रदान गरिएको छुट र विशेषाधिकार चाहेको मात्रा र शर्तमा परित्याग गर्न सक्नेछ ।