(१) कुनै मुद्दामा उजुरी दायर भएपछि अदालतले त्यस सम्बन्धमा देहायका कुराहरूको जाँचबुझ गर्नेछ:–
(क) वादीको दावी वा निजले प्रतिवादी उपर लगाउन खोजेको अभियोग कानूनमा आधारित छ वा छैन ?
(ख) वादीले प्रस्तुत गरेको वा गर्न चाहेको प्रमाणहरू मुद्दामा सरोकारका छन् वा छैनन् र ती प्रमाणहरू उजुरीमा उल्लेख भएका कुराहरू प्रमाणित गर्न पर्याप्त छन्वा छैनन्?
(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा अदालतले वादीको उजुरी नै लाग्न नसक्ने वा विश्वसनीय वा पर्याप्त प्रमाण नभएकोले उजुरीमा उल्लेख भएका कुराहरू प्रमाणित हुन नसक्ने देखेमा कारण समेत उल्लेख गरी उजुरी खारेज गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम उजुरी खारेज हुने भएमा बाहेक अदालतलेः–
(क) प्रतिवादी अदालतमा उपस्थित भए तुरून्त निजको वयान लिई कारवाई गर्नु पर्छ ।
तर प्रतिवादीले तुरून्त बयान गर्न इन्कार गरी प्रतिउत्तर पेश गर्न चाहेमा निजलाई सात दिनको म्याद दिइनेछ ।
(ख) प्रतिवादी अदालतमा उपस्थित नभए निजको नाममा तीन दिनभित्र समाव्हान वा इतलायनामा जारी गर्नु पर्छ ।
(४) कुनै कानून अन्तर्गत अदालतले स्वयं कारवाई चलाउनु पर्ने अवस्थामा मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कुनै व्यक्तिका उपर मुद्दा चलाउनु पर्ने देखिएमा अदालतले देहायका कुराहरू उल्लेख गरी पर्चा खडा गर्नुपर्छ र उपदफा (३) को खण्ड (क) र (ख) बमोजिम कारवाई गर्नुपर्छ :-
(क) प्रतिवादीको पूरा नाम र ठेगाना,
(ख) मुद्दा चलाउनु पर्ने कारण, र
(ग) तत्सम्बन्धी प्रमाण ।