दफा १०
दर्ता

(१) कुनै कारोबारमा संलग्न हुन चाहने व्यक्तिले कारोबार सुरु गर्नुभन्दा अघि कारोबार दर्ताको लागि तोकिएको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ ।

(२) कुनै व्यक्तिले कारोबार गरेको वस्तु वा सेवामा कर लाग्ने भएमा त्यसरी कर लागेको वा कारोबार सञ्चालन गरेको मितिले तीस दिनभित्र त्यस्तो कारोबार दर्ताको लागि तोकिएको ढाँचामा कर अधिकृतसमक्ष दरखास्त दिनु पर्नेछ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुसूची–१ मा उल्लिखित कर छुट हुने वस्तु वा सेवाको मात्र कारोबार गर्ने व्यक्तिले दर्ता गराउनु पर्ने छैन ।

(४) उपदफा (१) वा (२) बमोजिम रीतपूर्वकको निवेदन दिने प्रत्येक व्यक्तिलाई कर अधिकृतले दर्ता गरी तोकिएको ढाँचामा तोकिएको म्यादभित्र दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

(५) दर्ता भएको व्यक्तिले दर्ताको प्रमाणपत्र आफ्नो कारोबार सञ्चालन गर्ने प्रमुख स्थानमा सबैले देख्ने गरी राख्नु पर्नेछ र कारोबारको स्थान एकभन्दा बढी भएमा प्रमुख स्थान बाहेक अन्य स्थानमा समेत कर अधिकृतद्वारा प्रमाणित गरेको दर्ताको प्रमाणपत्र सबैले देखिने गरी राख्नु पर्नेछ ।

(६) दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्बरको प्रयोग मूल्य अभिवृद्धि कर, अन्तशुल्क र भन्सार सम्बन्धी सबै कारोबार र तोकिए बमोजिमका अन्य कारोबारको सम्बन्धमा समेत गर्नु पर्नेछ ।

(७) उपदफा (१) वा (२) बमोजिम दर्ताको लागि दिएको दरखास्तमा उल्लिखित विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको पन्ध्र दिनभित्र दर्ता भएको व्यक्तिले कर अधिकृतलाई सो कुराको जानकारी दिनु पर्नेछ ।