नियम ४७
निरीक्षक

(१) परियोजनाको निरीक्षण गर्न जिल्ला खानेपानी कार्यालयले निरीक्षक तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको निरीक्षकले परियोजनाको समय समयमा निरीक्षण गरी देहायका विषयहरुमा पानी आपूर्तिकर्तालाई आवश्यक आदेश तथा निर्देशन दिई सोको जानकारी जिल्ला खानेपानी कार्यालयलाई दिनु पर्नेछ ः–
(क) स्रोतको भौतिक सुरक्षा तथा प्रतिकूल वातावरणीय असरबाट संरक्षण,
(ख) संरचनाको निर्माण, मर्मत, सम्भार तथा सुरक्षा,
(ग) स्रोत तथा संरचनामा भएको खानेपानीको परिमाणको लगत राख्ने, खानेपानीको प्रवाह घटाउने, बढाउने तथा खानेपानीको अनधिकृत चुहावट र सेवाको दुरुपयोगबाट बचाउने,
(घ) खानेपानीलाई प्रदुषण हुनबाट बचाउने तथा स्वास्थ्यकर बनाउने,
(ङ) उपभोक्तालाई उपलब्ध गराउने सेवाको व्यवस्थापन, खानेपानीको आपूर्ति गर्ने लगायत अन्य प्राविधिक कुराहरु ।
(३) उपनियम (२) मा लेखिएदेखि बाहेक सेवा संचालन तथा उपयोग सम्बन्धमा जिल्ला खानेपानी कार्यालयले सम्बन्धित पानी आपूर्तिकर्तालाई आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ ।
(४) उपनियम (२) वा (३) बमोजिम निरीक्षक वा जिल्ला खानेपानी कार्यालयले दिएको आदेश तथा निर्देशन सम्बन्धित पानी आपूर्तिकर्ताले पालना गर्नु पर्नेछ ।