दफा
परिभाषा

२.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
२.१.१ “प्राधिकरण” भन्नाले दफा ३ बमोजिम स्थापना भएको काठमाडौं उपत्यका विकास प्राधिकरण सम्झनु पर्छ ।
२.१.२ “भौतिक विकास योजना” भन्नाले दफा ५ बमोजिम तर्जुमा भई नेपाल सरकारबाट स्वीकृत भौतिक विकास योजना सम्झनु पर्छ ।
२.१.३ “योजना क्षेत्र” भन्नाले अनुसूचीमा उल्लेख भए बमोजिमको काठमाडौं उपत्यका विकास योजना क्षेत्र सम्झनु पर्छ ।
२.१.४ “समिति” भन्नाले दफा १३ बमोजिम गठित काठमाडौं उपत्यका भौतिक विकास समिति सम्झनु पर्छ ।
२.१.५ “सञ्चालक समिति” भन्नाले दफा १४ बमोजिम गठित सञ्चालक समिति सम्झनु पर्छ ।
२.१.६ “विकास आयुक्त” भन्नाले दफा १७ को उपदफा १७.१ बमोजिम नियुक्त विकास आयुक्त सम्झनु पर्छ ।
२.१.७ “पुनरावेदन समिति” भन्नाले दफा २३ बमोजिमको पुनरावेदन समिति सम्झनु पर्छ ।
२.१.८ “जग्गा” भन्नाले जुनसुकै जग्गा र त्यसमा स्थायी रूपले रहेको घर, बनोट, ताल, पोखरी, रुख आदि समेतलाई जनाउँछ ।
२.१.९ “भवन” भन्नाले आवासीय, कार्यालय, औद्योगिक, व्यापारिक वा अन्य कुनै प्रयोगको लागि बनेको भवन वा घर सम्झनु पर्छ र सो शब्दले गोदाम घर, टहरा, गोठ, ग्यारेज, चर्पी, पर्खाल वा त्यसको कुनै भागलाई समेत जनाउँछ ।
२.१.१० “सेवा सुविधा” भन्नाले सडक, बाटो, खुल्ला ठाउँ, पार्क, मनोरञ्जनस्थल, खेल मैदान, पानी, बिजुली, टेलिफोन, ढल निकास, विद्यालय, अस्पताल आदि सम्झनु पर्छ ।
२.१.११ “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।