दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “आयोग” भन्नाले दफा ३ बमोजिम गठन भएको खानेपानी महसुल निर्धारण आयोग सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्छ ।
(ग) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ र सो शब्दले आयोगको अध्यक्ष समेतलाई जनाउँछ ।
(घ) “प्राकृतिक पानी” भन्नाले सनातनदेखि अवस्थित ढुङ्गेधारा, कुवा, नदी, खोला, इनार, पोखरी, ताल वा सतही प्राकृतिक स्रोतबाट निःसृत भएको वा भूमिगत स्रोतबाट निकालिएकोे पानी सम्झनु पर्छ ।
(ङ) “खानेपानी सेवा” भन्नाले प्राकृतिक पानीलाई प्रशोधन तथा शुद्धिकरण गरी उपभोक्तालाई उपलब्ध गराउने काम सम्झनु पर्छ ।
(च) “सरसफाई सेवा” भन्नाले मानव मलमूत्रबाट वा घरेलु, व्यापारिक वा औद्योगिक उपयोग पश्चात् निष्काशन भएको फोहर पानी तथा त्यस्तो पानीमा मिश्रित सबै किसिमका फोहर पदार्थलाई नष्ट गर्ने, निष्काशन गर्ने, प्रशोधन गर्ने वा शुद्धिकरण गर्ने काम सम्झनु पर्छ ।
(छ) “सेवा” भन्नाले खानेपानी वा सरसफाई सेवा सम्झनु पर्छ ।
(ज) “सेवा प्रणाली” भन्नाले खानेपानी वा सरसफाई सेवा प्रदान गर्ने उद्देश्यले निर्माण वा जडान गरिएको पाइप, जलाशय, खानेपानी, फोहर पानी वा ढल मिसिएको पानी प्रशोधन वा शुद्धिकरण गर्ने प्लाण्ट वा त्यस्तै किसिमका अन्य उपकरण वा संरचना सम्झनु पर्छ ।
(झ) “सेवा प्रदायक” भन्नाले महसुल लिई सेवा उपलब्ध गराउने व्यक्ति, उपभोक्ता समूह वा संगठित संस्था सम्झनु पर्छ ।
(ञ) “महसुल” भन्नाले सेवा प्रदायकले सेवा प्रदान गरे बापत उपभोक्ताबाट लिन पाउने महसुल सम्झनु पर्छ ।
(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।