दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नागरिक लगानी कोष सम्झनु पर्छ । (ख) “साधारण सभा” भन्नाले दफा २१ बमोजिम बोलाइएको शेयरवालाहरूको साधारण सभा सम्झनु पर्छ । (ग) “समिति” भन्नाले दफा २५ बमोजिम गठन भएको कोषको सञ्चालक समिति सम्झनु पर्छ । (घ) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ । (ङ) “सञ्चालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष समेतलाई जनाउँछ । (च) “कार्यकारी निर्देशक” भन्नाले दफा ४२ बमोजिम नियुक्त कोषको कार्यकारी निर्देशक सम्झनु पर्छ । (छ) “शेयर” भन्नाले कोषको शेयर पूंजीको विभाजित अंश सम्झनु पर्छ । (ज) “शेयरवाला” भन्नाले कोषको शेयरमा स्वामित्व भएको व्यक्ति सम्झनु पर्छ । (झ) “शेयर प्रमाणपत्र” भन्नाले शेयरवालालाई शेयर खरीद गरे बापत कोषले प्रदान गरेको निस्सा सम्झनु पर्छ । (ञ) “कर्जा” भन्नाले कुनै चल वा अचल सम्पत्ति धितो वा बन्धक लिई वा अन्य आवश्यक सुरक्षण वा जमानत लिई कोषले निर्धारण गरेको शर्तमा दिने ऋण सम्झनु पर्छ । (ट) “डिबेञ्चर” भन्नाले कोषको जायजेथा धितो राखी वा नराखी कोषले जारी गरेको ऋणपत्र सम्झनु पर्छ । (ठ) “ऋणपत्र” भन्नाले राष्ट्र ऋण ऐन, २०१७ अन्तर्गत नेपाल सरकारले निष्काशन गरेको ऋणपत्र सम्झनु पर्छ । (ड) “धितोपत्र (सेक्यूरिटी)” भन्नाले शेयर, स्टक, नगद, डिबेञ्चर, डिबेञ्चर स्टक र नेपाल सरकारले जारी गरेको ऋणपत्र सम्झनु पर्छ र सो शब्दले धितोपत्रको धरौटीसम्बन्धी भर्पाइ तथा धितोपत्रसम्बन्धी हक र अधिकारपत्र समेतलाई जनाउँछ । (ढ) “लगानी” भन्नाले कुनै संगठित संस्थाको शेयर वा डिबेञ्चर र अन्य धितोपत्रहरूमा गरिएको लगानी सम्झनु पर्छ । (ण) “लगानीकर्ता हिसाब योजना (इन्भेष्टमेन्ट एकाउन्ट स्कीम)” भन्नाले दफा १५ बमोजिम कोषले सञ्चालन गरेको लगानीकर्ता हिसाब योजना सम्झनु पर्छ । (त) “नागरिक एकाङ्क योजना (सिटीजन यूनिट स्कीम)” भन्नाले दफा १६ बमोजिम कोषले सञ्चालन गरेको नागरिक एकाङ्क योजना सम्झनु पर्छ र सो शब्दले सर्वसाधारण बचतकर्ता र लगानीकर्ताहरूबाट संकलन गरी जम्मा भएको पूंजी कोष र त्यस्तो पूंजी कोषलाई व्यवस्थित गर्ने योजनालाई समेत जनाउँछ । (थ) “एकाङ्क (यूनिट)” भन्नाले नागरिक एकाङ्क योजना अन्तर्गत पूंजी संकलन गर्न जारी गरिएको एकाङ्क सम्झनु पर्छ । (द) “एकाङ्कवाला (यूनिटहोल्डर)” भन्नाले कोषको एकाङ्कमा स्वामित्व भएको व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ । (ध) “एकाङ्क प्रमाणपत्र” भन्नाले नागरिक एकाङ्क योजनामा रकम लगानी गरे बापत कोषले एकाङ्कवालालाई प्रदान गरेको निस्सा सम्झनु पर्छ । (न) “प्राविधिक उप–समिति” भन्नाले दफा ४३ बमोजिम गठन भएको विशेषज्ञहरूको प्राविधिक उप–समिति सम्झनु पर्छ । (प) “संगठित संस्था” भन्नाले प्रचलित कानून बमोजिम संगठित संस्थाको रुपमा स्थापना भएको बैंङ्क, पब्लिक कम्पनी, उद्योग वा त्यस्तै सरकारी वा गैर सरकारी संस्था सम्झनु पर्छ । (प१) “ट्रष्टी” भन्नाले यस ऐन बमोजिम बचतकर्ता र लगानीकर्ताहरूबाट संकलन गरी जम्मा भएको पूंजी कोषलाई सम्बन्धित योजनाको सर्त अनुसार लगानी प्रबन्ध गर्न वा तत्सम्बन्धमा अन्य कुनै संगठित संस्थासंग भएको सम्झौता बमोजिमको दायित्व पूरा गर्नको निमित्त दफा ४३क. बमोजिम कोषले तोकिदिएको कोषको समिति, उपसमिति वा त्यस्तो समिति वा उपसमितिको सदस्य वा कोषको अधिकृत कर्मचारी सम्झनु पर्छ । (फ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।