दफा
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “नोटरी पब्लिक” भन्नाले दफा १४ बमोजिम नोटरी पब्लिकको प्रमाणपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ख) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल नोटरी पब्लिक परिषद् सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
(ङ) “सचिव” भन्नाले दफा ७ बमोजिम नियुक्त भएको वा खटिएको व्यक्ति सम्झनु पर्छ ।
(च) “प्रमाणपत्र” भन्नाले नोटरी पब्लिकको काम गर्न दफा १४ बमोजिम दिइएको प्रमाणपत्र सम्झनु पर्छ ।
(छ) “लिखत” भन्नाले कुनै प्रकारको हक वा दायित्व सृजना गर्ने, हस्तान्तरण गर्ने, संशोधन गर्ने वा विस्तार गर्ने गरी दुई वा दुईभन्दा बढी व्यक्तिबीच गरिने कुनै लिखत सम्झनु पर्छ र सो शब्दले विदेशमा प्रयोग हुने तोकिएको लिखत वा अड्डा अदालतमा पेश गरिने सत्य विवरणयुक्त कागज (एफिडाभिट) वा यस्तै प्रकारका अन्य कागज वा लिखत समेतलाई जनाउँछ ।
(ज) “कागजात” भन्नाले सरकारी वा सार्वजनिक कार्यालय वा निजी संस्थाबाट जारी भएको कागजपत्र सम्झनु पर्छ र सो शब्दले लिखत समेतलाई जनाउँछ ।
(झ) “प्रमाणीकरण” (सर्टिफिकेसन) भन्नाले नोटरी पब्लिकले दफा २७ बमोजिम लिखत प्रमाणीकरण गर्ने कार्य सम्झनु पर्छ ।
(ञ) “प्रतिनिधि” भन्नाले देहायका व्यक्ति सम्झनु पर्छ:-
(१) लिखत प्रमाणीकरण गराउन प्रचलित कानून बमोजिम अधिकृत वारेसनामा पाएको व्यक्ति, वा
(२) प्रचलित कानून बमोजिम संस्थापना भएको फर्म, कम्पनी वा संगठित संस्थाको तर्फबाट लिखतमा हस्ताक्षर गर्न अधिकार पाएको व्यक्ति ।
(ट) “कानून व्यवसायी” भन्नाले प्रचलित कानून बमोजिम कानून व्यवसायीको रुपमा दर्ता भएको व्यक्ति सम्झनु पर्छ ।
(ठ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।