दफा ३३
सजाय
(१) कसैले यस ऐन बमोजिम प्रमाणपत्र नलिई नोटरी पब्लिकको काम गरेमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद वा एक लाख पचास हजार रुपैयासम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।
(२) कुनै नोटरी पब्लिकले पदीय दुराचरण गरेमा कसूरको प्रकृति हेरी निजलाई चार वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।
(३) लिखत गर्ने व्यक्तिले प्रमाणीकरण गरिएको लिखतमा लेखाएको ब्यहोरा झुठ्ठा ठहरेमा त्यस्तो व्यक्तिलाई चार वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।
(४) कुनै व्यक्तिले दफा २७ को उपदफा (५) बमोजिम गरेको शपथ झुठ्ठा ठहरेमा त्यस्तो व्यक्तिलाई तीन महिनासम्म कैद वा पन्ध्र हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।
(५) लिखत प्रमाणीकरण गर्न साक्षी वस्ने व्यक्तिले गलत व्यक्तिको यकिन गरेमा वा गलत विवरण वा वयान दिएमा वा गलत कागज गरेमा निजलाई छ महिनासम्म कैद वा पच्चीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।
(६) कसैले नोटरी पब्लिकसँगको मिलेमतोमा जालसाजी वा कीर्ते गरी वा झुक्याई लिखत प्रमाणीकरण गराएमा त्यस्तो व्यक्तिलाई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।
(७) कसैले अनुवाद गर्ने कागजातमा लेखिएको मिति, अङ्क वा व्यहोरा फरक पारी अनुवाद गरे गराएमा त्यस्तो व्यक्तिलाई तीन महिनासम्म कैद वा पन्ध्र हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।
(८) कसैले यस दफामा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा निजलाई तीन महिनासम्म कैद वा पन्ध्र हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायँ हुनेछ ।