नियम २
परिभाषा
(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा ,–
(क) “कार्यसूची” भन्नाले संयुक्त बैठकको कार्यसूची सम्झनु पर्छ ।
(ख) “टेबुल” भन्नाले संयुक्त बैठकको टेबुल सम्झनु पर्छ र सो शब्दले संयुक्त बैठक समक्ष कुनै कागजपत्र वा विवरण पेश गर्ने कार्यलार्ई समेत जनाउँछ ।
(ग) “प्रस्ताव” भन्नाले संयुक्त बैठकको विचारार्थ पेश गरिएको कुनै प्रस्ताव सम्झनु पर्छ र सो शब्दले संशोधन प्रस्तावलाई समेत जनाउँछ ।
(घ) “प्रस्तुतकर्ता सदस्य” भन्नाले सरकारी विधेयकको सम्बन्धमा कुनै मन्त्री र गैर सरकारी विधेयकको सम्बन्धमा विधेयक प्रस्तुतकर्ता सदस्य सम्झनु पर्छ र सो शब्दले कुनै सदनबाट पारित भई प्राप्त भएको विधेयकको सम्बन्धमा उक्त विधेयकमा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सदस्यलाई समेत जनाउँछ ।
(ङ) “मन्त्री” भन्नाले नेपाल सरकारको प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्री सम्झनु पर्छ ।
(च) “महासचिव” भन्नाले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त संघीय संसदकोे महासचिव सम्झनु पर्छ र सो शब्दले महासचिव अनुपस्थित रहेको अवस्थामा महासचिवको काम गर्न सभामुखले तोकेको प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सचिव वा संघीय संसद सचिवालयको सचिवलाई समेत जनाउँछ ।
(छ) “सदन”, “सभा” वा “बैठक” भन्नाले संघीय संसदको संयुक्त सदन, सभा वा बैठक सम्झनु पर्छ ।
(ज) “सदस्य” भन्नाले संघीय संसदको सदस्य सम्झनु पर्छ ।
(झ) “सूचनापत्र” भन्नाले देहायका विषयहरू समावेश भएको संयुक्त बैठककोे सूचनापत्र सम्झनु पर्छ ः–
(१) संयुक्त बैठकको कारबाही सम्बन्धी सूचना
(२) संयुक्त बैठकको कारबाहीको संक्षिप्त विवरण सम्बन्धी सूचना
(३) संयुक्त समितिसँग सम्बन्धित सूचना
(४) सभामुखले आवश्यक ठह¥याएको अन्य विवरणको सूचना
(ञ) “संयुक्त बैठक” भन्नाले दुवै सदनको संयुक्त बैठक सम्झनु पर्छ ।
(ट) “संयुक्त समिति” भन्नाले संविधानको धारा ९७ तथा यस नियमावली बमोजिम गठन हुने दुवै सदनको संयुक्त समिति सम्झनु पर्छ ।
(ठ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।
(२) प्रतिनिधि सभा नियमावली, २०७५ र राष्ट्रिय सभा नियमावली, २०७५ मा उल्लेख गरिएको परिभाषा यस नियमावलीको प्रयोजनको लागि समेत आवश्यकता अनुसार लागू हुनेछ ।