दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “आयोग” भन्नाले यस ऐनको दफा ३ बमोजिम गठन भएको कर फछ्र्यौट आयोग सम्झनु पर्छ ।

(ख) “कर” भन्नाले प्रचलित नेपाल कानूनबमोजिम लाग्ने कुनै पनि कर सम्झनु पर्छ ।

(ग) “करदाता” भन्नाले प्रचलित नेपाल कानूनबमोजिम कर तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ ।

(घ) “करसम्बन्धी विषय” भन्नाले प्रचलित नेपाल कानूनबमोजिम कर अधिकृत समक्ष विवरण पेश हुन बाँकी रहेको वा पेश भै रहेको विवरण अनुसार कर निर्धारण हुन बाँकी रहेको वा राजस्व न्यायाधिकरणमा साधक जाहेर भई सदर हुन वा पुनरावेदन परी अन्तिम निर्णय हुन बाँकी रहेको वा राजस्व न्यायाधीकरणमा पुनरावेदन दिने म्याद गुज्री निर्धारित कर रकम असूल गर्न बाँकी रहेको करसम्बन्धी विषय सम्झनु पर्छ ।

(ङ) “सूचित आदेश” भन्नाले यस ऐन अन्तर्गत नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचना सम्झनु पर्छ ।