दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कर्मचारी” भन्नाले यो ऐन प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत
स्थायी कर्मचारी सम्झनु पर्छ ।
(ख) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको
नियम वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जारी
गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले कर्मचारी प्रशासन हेर्ने नेपाल सरकारको मन्त्रालय
सम्झनु पर्छ ।
(घ) “समायोजन” भन्नाले कर्मचारीलाई सङ्घ, प्रदेश वा स्थानीय तहको सेवाको
पदमा पदस्थापन गर्ने कार्य सम्झनु पर्छ ।
(ङ) “सरकारी सेवा” भन्नाले निजामती सेवा ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा
ऐन, २०५३ र व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४
बमोजिम गठन भएका सेवा सम्झनु पर्छ ।
(च) “सेवा सञ्चालन गर्ने निकाय” भन्नाले प्रचलित कानून बमोजिम सेवा,
समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय वा निकाय सम्झनु पर्छ ।
(छ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।