विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “खाद्य पदार्थ” भन्नाले साधारणतः मानिसले खाने पिउने, अप्रशोधित, अर्ध प्रशोधित, प्रशोधित वा उत्पादित खाद्य वा पेय पदार्थ सम्झनु पर्छ र सो शब्दले खाने पिउने पदार्थमा प्रयोग गरिने मरमसला, खाद्य योगशील (फूड एडिटिभ) रंग वा सुगन्ध समेतलाई जनाउँछ ।
(ख) “दूषित खाद्य पदार्थ” भन्नाले देहायको कुनै अवस्थाको खाद्य पदार्थ सम्झनु पर्छ ः– (१) स्वास्थ्यलाई हानि हुने गरी सडेको गलेको वा फोहर मैला वा विषाक्त अवस्थामा राखिएको वा तयार गरिएको खाद्य पदार्थ, (२) मानिसको उपभोगको लागि अनुपयुक्त हुने गरी केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशु पंक्षी वा हानिकारक वनस्पतिबाट बनेको खाद्य पदार्थ, (३) कुनै खाद्य योगशील (फूड एडिटिभ), रंग परिरक्षी (प्रीजर्वेटिभ), अन्र्तविकसित वा बहिर्मिश्रित रसायन वा कीटानासक औषधिको लागि तोकिएको अधिकतम सीमा भन्दा बढी हुन गई स्वास्थ्यलाई हानि हुन सक्ने खाद्य पदार्थ ।
(ग) “न्यूनस्तरको खाद्य पदार्थ” भन्नाले देहायको कुनै अवस्थाको खाद्य पदार्थ सम्झनु पर्छ ः– (१) कुनै खाद्य पदार्थको स्वाभाविक गुण भन्दा कमसल हुने गरी प्रमुख अंगको परिमाण घटाइएको वा अर्को कुनै पदार्थ मिश्रण गरिएको खाद्य पदार्थ, तर दुई वा दुई भन्दा बढी वस्तु मिश्रीत खाद्य पदार्थहरुमा त्यस्तो मिश्रीत खाद्य पदार्थहरुको नाम र परिमाण स्पष्ट उल्लेख छ र स्वास्थ्यलाई हानि गर्दैन भने त्यस्तो खाद्य पदार्थलाई न्यूनस्तरको खाद्य पदार्थ मानिने छैन । (२) दफा ७ बमोजिम निर्धारण गरिएको गुणस्तर वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेशमा तोकिएको न्यूनतम आवश्यक गुणस्तर भन्दा घटेको वा अधिकतम गुणस्तर तोकिएकोमा सो भन्दा बढेको खाद्य पदार्थ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियम वा आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।