विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्राधिकरण” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्झनु पर्छ ।
(ख) “विमानस्थल” भन्नाले वायुयान प्रस्थान वा अवतरण गर्ने कामको निमित्त पूरा वा आंशिक रूपमा प्रयोग हुने कुनै निश्चित वा सीमित जल वा स्थल क्षेत्र सम्झनु पर्छ र सो शब्दले त्यस क्षेत्रमा रहेका वा त्यस क्षेत्रसंग सम्बन्धित सबै भवन, टहरा, जहाज, डुङ्गा र घाटलाई समेत जनाउँछ ।
(ग) “विमानस्थल क्षेत्र” भन्नाले विमानस्थल वा हवाई उडानको सुरक्षित सन्चालन तथा नियन्त्रण गर्ने वा तत्सम्बन्धी आवश्यक सूचना तथा जानकार िआदान प्रदान गर्ने कामको निमित्त प्रयोग हुने कुनै यन्त्र तथा सन्चार वा उड्डयन सहाय (नेभिगेशनल एड) उपकरणहरू जडान भएका वा नभएका सबै स्थान, भवन, टहरा, टावर, जहाज, डुङ्गा र घाट सम्झनु पर्छ ।
(घ) “वायुयान” भन्नाले हावाको प्रक्रियाद्वारा वायुमण्डलमा आधारित हुन सक्ने जुनसुकै यन्त्र सम्झनु पर्छ र सो शब्दले जमिनसित गाँसिएको वा नगाँसिएको बेलुन, हवाई जहाज, हेलिकप्टोर, चङ्गा, ग्लाइडर, ह्यांग ग्लाइडर, माइक्रोलाइट, बेलुन र उड्ने अन्य जुनसुकै यन्त्रलाई समेत जनाउँछ ।
(ङ) “हवाई उडान अनुमति” भन्नाले नियमित (सेडुल्ड), नन्सेडुल्ड, चार्टर, निजी, आकस्मिक र कूटनीतिक हवाई उडानको निमित्त प्रदान गरिएको अनुमति सम्झनु पर्छ ।
(च) “योजना” भन्नाले दफा ६ बमोजिमको हवाई यातायात सेवा तथा सुविधा विकास योजना सम्झनु पर्छ ।
(छ) “याुत्र सेवा सुविधा” भन्नाले विमानस्थल क्षेत्रभित्र उपलब्ध गराइने हुलाक, बैंक मुद्रा सटही काउण्टर समेत), बिमा, टेलिफोन, कर मुक्त पसल (ड्युटी फ्री शप), क्यूरियो पसल, पुस्तक पसल, सूचना केन्द्र, चमेना गृह, शौचालय, यात्रु कक्ष, प्रतिक्षा कक्ष, विश्राम कक्ष, टिकट जाँच कक्ष, अध्यागमन तथा भन्सार जाँच कक्ष, यात्रु तथा यात्रुहरूको मालसामानको सुरक्षा तथा ओसार पसार गर्ने व्यक्ति (पोर्टर), मालसामान (ब्यागेज), मालसामानको सुरक्षा (लकर), सवारी साधन लगायत उपलब्ध गराइएका अन्य सुविधाहरू सम्झनु पर्छ ।
(ज) “वायुसेवा सञ्चालन संस्था” भन्नाले वायुयानद्वारा यात्रु डाँक तथा मालसामान ओसार पसार गर्ने जिम्मा लिई हवाई यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापित संस्थान, कम्पनी, एजेण्ट, फर्म वा व्यक्ति सम्झनु पर्छ ।
(झ) “हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था (फ्लाइङ्ग स्कूल)” भन्नाले हवाई उडान सञ्चालनसंग सम्बन्धित प्राविधिकहरूलाई हवाई उडान सम्बन्धी विषयमा तालीम प्रशिक्षण तथा यस्तै अन्य प्रकारको प्राविधिक ज्ञान दिने दिलाउने संस्था सम्झनु पर्छ र सो शब्दले यस्तै उद्देश्यले स्थापना भएका फ्लाइङ्ग क्लवलाई समेत जनाउँछ ।
(ञ) “वायुयान धनी” भन्नाले कुनै वायुयान माथि स्वामित्व भएको व्यक्ति, कम्पनी वा संघ संस्था सम्झनु पर्छ र सो शब्दले त्यस्तो कम्पनी वा संघ संस्थाका प्रबन्धक वा प्रबन्ध प्रतिनिधि (मेनेजिंग एजेण्ट) नियुक्त भएकोमा निजलाई समेत जनाउँछ ।
(ट) “समिति” भन्नाले दफा १३ बमोजिम गठित सञ्चालक समिति सम्झनु पर्छ ।
(ठ) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ड) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको सदस्य–सचिवलाई समेत जनाउँछ ।
(ढ) “महानिर्देशक” भन्नाले दफा १९ बमोजिम नियुक्त महानिर्देशक सम्झनु पर्छ ।
(ण) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।