दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “सन्धि” भन्नाले दुई वा दुई भन्दा बढी राज्यहरू वा कुनै राज्य र अन्तर सरकारी सङ्गठन बीच लिखित रूपमा सम्पन्न भएको सम्झौता सम्झनु पर्छ र सो शब्दले यसै प्रकृतिको जुनसुकै नामाकरण गरिएको लिखत समेतलाई जनाउनेछ ।

(ख) “पूर्णाधिकार” भन्नाले सन्धि वार्ता गर्न वा सन्धिको अन्तिम मस्यौदा वा प्रामाणिक प्रति स्वीकार गर्न वा सन्धिमा हस्ताक्षर गर्न अख्तियारी दिई नेपाल सरकारले जारी गरेको अधिकार पत्र सम्झनु पर्छ र सो शब्दले त्यस्तो सन्धि वार्ता गर्दा वा सन्धि हस्ताक्षर गर्दा आरक्षण राख्न वा त्यस्तो सन्धि सम्बन्धमा अन्य कुनै काम गर्न प्रदान गरेको अख्तियारी समेतलाई जनाउनेछ ।

(ग) “आरक्षण” भन्नाले बहुपक्षीय सन्धिलाई हस्ताक्षर गर्दा वा त्यस्तो सन्धिको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्दा कुनै पक्षले सो सन्धिको कुनै प्रावधान आफूलाई लागू नहुने भनी गरेको घोषणा सम्झनु पर्छ र सो शब्दले त्यस्तो प्रावधानको व्याख्या कुनै पक्षले आफ्नो हकमा स्पष्ट गरी गरेको घोषणा समेतलाई जनाउनेछ ।

(घ) “सन्धि परित्याग” भन्नाले सन्धिमा उल्लेख भएको रीत पुर्याई सन्धि समाप्त गर्न गरेको घोषणा सम्झनु पर्छ ।

(ङ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।