दफा १४
पुरस्कार
(१) यस ऐन विपरीत कुनै काम हुन लागेको भइरहेको वा भइसकेको कुराको सूचना वा सुराकीको आधारमा मुद्दा चली मुद्दाको अन्तिम निर्णय भएपछि कसुरदारवाट बरामद भएको अन्त:शुल्क लाग्ने वस्तुबाट असुल भएको अन्त:शुल्क बाहेकको रकमवाट देहाय बमोजिमको रकम सम्बन्धित आन्तरिक “राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट त्यस्तो सूचना वा सुराकी दिने सरकारी कर्मचारी वा व्यक्तिलाई पुरस्कार स्वरुप प्रदान गरिनेछ:-

(क) सुराकी दिने व्यक्तिलाई बिगोको दश प्रतिशत

(ख) वस्तु मात्र पक्री पेश गर्ने व्यक्तिलाई बिगोको बीस प्रतिशत

(ग) वस्तु तथा मानिस सहित पक्री पेश गर्ने व्यक्तिलाई बिगोको तीस प्रतिशत

तर सूचना वा सुराकी दिने व्यक्ति एकभन्दा बढी भएमा त्यस्ता व्यक्तिहरु बीच पुरस्कारको बाँडफाँट समानुपातिक रुपले गरिनेछ ।

(२) कुनै कर्मचारी वा प्रहरीले सुराक पाई बरामद गरेको वस्तु व्यक्ति सहित पक्राउ गरेमा त्यस्तो कर्मचारी वा प्रहरीलाई बिगोको पच्चीस प्रतिशत दिइनेछ ।

तर वस्तु मात्र पक्रिएमा पक्रिएको वस्तुको मूल्यको पच्चीस प्रतिशत मात्र पुरस्कार स्वरुप प्रदान गरिनेछ । त्यसरी पुरस्कार दिँदा एक पटकमा प्रति व्यक्ति पन्ध्र हजार रुपैयाँभन्दा बढी भएमा सो अङ्कमा नबढ्ने गरी दिइनेछ।