दफा ५५
सजाय
: (१) कसैले दफा ५ को उपदफा (१) विपरीत कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) कसैले दफा ५३ विपरीत कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई तीन महिनादेखि नौ महिनासम्म कैद वा तीस हजार रुपैयाँदेखि नब्बे हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(३) कसैले दफा ५४ विपरीत कुनै काम गरेमा भिक्षा माग्न वा माग्न लगाउनेलाई प्रचलित कानून बमोजिम हुने सजायमा पचास प्रतिशत थप सजाय हुनेछ ।
(४) उपदफा (२) बमोजिमको कसूर गर्न दुरुत्साहन गर्ने, उद्योग गर्ने वा मतियार भई सहयोग गर्नेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
(५) उपदफा (२) र (४) बमोजिमको सजाय पाएको व्यक्तिले पुन त्यस्तो कार्य गरेमा सो उपदफा बमोजिम हुने सजायमा पच्चीस प्रतिशत थप सजायसमेत हुनेछ ।
(६) कुनै व्यक्तिले यस ऐन बमोजिम प्रदत्त अपाङ्गता भएका व्यक्तिको अधिकार उल्लङ्घन गरेमा वा निज प्रतिको दायित्व पूरा नगरेमा त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(७) माथि उपदफाहरुमा लेखिएदेखि बाहेक यस ऐन विपरीत काम गर्ने व्यक्ति वा कुनै संस्था वा निकायका प्रमुखलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।