दफा १३०
अभियुक्तले आफ्नाे प्रतिरक्षाको लागि कानून व्यवसायी नियुक्त गर्न सक्ने
(१) कुनै कसूरको अभियोग लागेको अभियुक्तले आफू उपर लागेको आरोप खण्डन गर्न वा आफ्नाे प्रतिरक्षाको लागि आफूले रोजेको कानून व्यवसायी नियुक्त गरी बहस पैरवी गराउन सक्नेछ ।
(२) जन्म कैदको सजाय वा दश वर्ष वा दश वर्षभन्दा बढी कैदको सजाय हुन सक्ने कसूरको आरोप लागेको अभियुक्तले आफ्नो कानून व्यवसायी नियुक्त नगरेमा अदालतले त्यस्तो अभियुक्तको हकमा अदालतको तर्फबाट नियुक्त कानून व्यवसायीबाट निजको प्रतिरक्षा गर्न आदेश दिन सक्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्तले उपदफा (१) बमोजिम कानून व्यवसायी राख्न नचाहेमा वा उपदफा (२) बमोजिम अदालतले नियुक्त गरेको कानून व्यवसायीबाट प्रतिरक्षा गराउन इन्कार गरेमा पनि मुद्दाको कारबाही अगाडि बढाउन बाधा पुगेको मानिने छैन ।