दफा २२
घाउ जाँच गराउनु पर्ने
(१) कुटपिटको कारणबाट कुनै वारदात भई घा, चोट, नील वा डाम, इत्यादि भएकोमा सो जाँची पाउँ भनी सम्बन्धित ब्यक्तिले निवेदन दिएमा वा अनुसन्धान अधिकारीबाट लेखी आएमा सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीले निजको घाउ, चोटपटक, नील वा डाम जाँची अनुसूची–१६ बमोजिमको ढाँचामा घा जाँच केश गरी दिनु पर्नेछ ।
(२) उपदफा (१) मा लेखिए बाहेक अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएको ब्यक्तिलाई कुटपिट गरिएको, यातना दिएको वा निजको विरुद्ध अरु कुनै कसूर भएको प्रमाण निजको शारीरिक जाँचबाट उपलब्ध हुन सक्ने मनासिब आधार देखाई निज वा निजको तर्फबाट अरु कसैले निवेदन दिएमा अदालतले सरकारी चिकित्सक वा नेपाल सरकारले तोकेको चिकित्सक वा स्वास्थ्यकर्मीबाट त्यस्तो ब्यक्तिको शारीरिक जाँच गराउन आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम शारीरिक जाँच गर्दा समेत उपदफा (१) मा उल्लेखित घा जाँच गरी दिनु पर्नेछ ।
(४) दफा २०, २१ र यस दफा बमोजिम भएको परीक्षण प्रतिवेदन त्यस्तो परीक्षण भएको मितिले बाटोको म्याद बाहेक बढीमा तीन दिनभित्र सम्बन्धित चिकित्सक, विशेषज्ञ वा प्रयोगशालाले सम्बन्धित कार्यालय वा अनुसन्धान अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ ।
(५) उपदफा (२) बमोजिम हिरासतमा लिएको ब्यक्तिलाई कुटपिट गरेको वा निजलाई यातना दिएको देखिएमा त्यसरी कुटपिट गरिएको वा यातना पाएको ब्यक्तिको उपचार गराई निजलाई अन्तरिम राहत उपलब्ध गराउन र त्यसरी कुटपिट गर्ने वा यातना दिने ब्यक्तिलाई कानून बमोजिम विभागीय कारबाही गर्न अदालतले सम्बन्धित प्रहरी कार्यालय वा अनुसन्धान गर्ने अधिकारप्राप्त कार्यालय वा अधिकारीलाई आदेश दिनु पर्नेछ ।
(६) उपदफा (१) बमोजिम अनुसन्धान अधिकारीले घा जाँच गर्न सरकारी चिकित्सक वा स्वास्थकर्मीलाई लेखी नपठाएमा त्यसको व्यहोरा उल्लेख गरी सरोकारवाला व्यक्तिले अदालतमा निवेदन दिन सक्नेछ र त्यसरी निवेदन परेमा अदालतले घा जाँचको लागि सरकारी चिकित्सक वा स्वास्थ्यकर्मीलाई आदेश दिन सक्नेछ