दफा १३
दण्ड सजाय

(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको विनियम बमोजिम राख्न, बनाउन वा पेश गर्नु पर्ने विवरण, हिसाब किताब, प्रतिवेदन वा अन्य कुनै कागजातमा जानी जानी वा बदनियत साथ झूठो तथ्य देखाउने वा साँचो कुरा दबाई व्यहोरा फरक पार्ने वा सो कुराको उद्योग गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(२) सञ्चालक वा संस्थानको कुने कर्मचारीले जानी जानी वा लापरवाही गरी वा वदनियतसाथ उपदफा (१) मा लेखिए देखि बाहेक अन्य कुनै काम कुरा गरी संस्थानलाई हानी नोक्सानी पुर्‍याएमा निजलाई १ बर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

(३) सञ्चालक वा संस्थानका कुनै कर्मचारीले दफा ९ अन्तर्गत नियुक्त भएको लेखा परीक्षकलाई वा अधिकार प्राप्त अन्य कुनै अधिकारीलाई निजको कामकाजमा बाधा बिरोध गरेमा वा निजले मागेको आवश्यक कागजात स्पष्टीकरण वा सूचना कुनै मनासिब कारण बिना नदिएमा निजलाई एकहजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

(४) यस दफा बमोजिम सजाय हुने अपराधबाट संस्थानलाई कुनै हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगो समेत सो अपराध गर्ने व्यक्तिहरुबाट दामासाहीको हिसाबले असूल उपर गरिनेछ ।