दफा ५७
पक्राउ गर्ने वा समाह्वान जारी गर्ने
(१) यस संहिता बमोजिम उजुरी परेपछि अनुसूची–१ र अनुसूची–२ मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा उजुरीसाथ उपस्थित नभएका अभियुक्तलाई उपस्थित गराउन अदालतले यस परिच्छेदको अधीनमा रही आवश्यकता अनुसार पक्राउ पूर्जी वा समाह्वान जारी गर्नेछ ।
(२) देहायको कसूरको अभियुक्तलाई उपस्थित गराउन अदालतले उपदफा (१) बमोजिम पक्राउ पूर्जी जारी गर्नेछः–
(क) जघन्य कसूर वा गम्भीर कसूर,
(ख) खण्ड (क) मा उल्लिखित कुनै कसूरको उद्योग, दुरुत्साहन वा आपराधिक षडयन्त्र गरेको वा सो कसूरमा मतियार भएको कसूर वा त्यस्ता कसूरको अभियुक्तलाई लुकाएको वा भगाएको कसूर ।
(३) उपदफा (२) मा उल्लिखित कसूर बाहेक अन्य कसूरको अभियुक्तलाई अदालतमा उपस्थित गराउन अदालतले आवश्यकता अनुसार समाह्वान जारी गर्नेछ ।
तर अभियुक्त भागी पक्राउ हुन नसक्ने सम्भावना छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा वा समाव्हानमा तोकिएको म्यादमा अभियुक्त अदालतमा उपस्थित नभएमा त्यस्तो अभियुक्तका हकमा अदालतले उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गर्न सक्नेछ ।
(४) अदालतमा दाखिल गर्नु पर्ने कुनै लिखत वा दसी प्रमाण लुकाउने वा नास गर्ने सम्भावना छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा वा उपदफा (३) बमोजिम जारी भएको समाह्वानमा तोकिएको म्यादभित्र कुनै लिखत वा दसी प्रमाण अदालतमा दाखिल नगरेमा अदालतले त्यस्तो लिखत वा दसी प्रमाण दाखिल गर्नु पर्ने कर्तव्य भएको ब्यक्तिलाई पक्राउ गरी उपस्थित गराउन पक्राउ पूर्जी जारी गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम पक्राउ पूर्जी जारी भएकोमा अदालतले त्यस दफामा उल्लिखित लिखत वा दसी प्रमाण रहेको ठाउँको तलासी लिई अदालतमा दाखिल गर्न कुनै कर्मचारी वा कुनै प्रहरी अधिकृतलाई आदेश दिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिमको कर्मचारी वा प्रहरी अधिकृतले कुनै ठाउँको खानतलासी गर्दा दफा १८ बमोजिम गर्नु पर्नेछ ।
(७) अदालतले यस दफा बमोजिम कुनै अभियुक्तलाई उपस्थित गराउन पक्राउ पूर्जी वा समाह्वान जारी गर्दा उजुरीको व्यहोरा समेत खुल्ने गरी अनुसूची–२२ बमोजिमको ढाँचामा सूचना पठाउनु पर्नेछ ।