दफा १०३
प्रमाणसम्बन्धी विशेष व्यवस्था
अन्यथा प्रमाणित भएमा बाहेक देहायमा लेखिएका काम कुरा भए गरेको मानिनेछः– (क) विनिमेय अधिकारपत्र लेखिएको, खिचेको, स्वीकार गरेको, दरपीठ गरेको, विनिमेय गरेको वा हस्तान्तरण गरेकोमा प्रचलित कानून बमोजिम सो भए गरेको मानिनेछ । (ख) विनिमेय अधिकारपत्रमा मिति लेखिएको भए सोही मितिमा सो खिचिएको वा निष्कासन गरिएको मानिनेछ । (ग) विनिमेय अधिकारपत्र हस्तान्तरण भएकोमा भुुक्तानी अवधि पूरा हुनु अगावै सो हस्तान्तरण भएको मानिनेछ । (घ) विनिमेयपत्र स्वीकार गरिएकोमा मनासिब समयभित्रै र भुक्तानी अवधी पूरा हुन अगावै सो स्वीकार गरिएको मानिनेछ । (ङ) विनिमेय अधिकारपत्रमा दरपीठ गरिएकोमा जुन रूपमा दरपीठ गरिएको छ, सोही मुताबिक दरपीठ गरिएको मानिनेछ । (च) विनिमेय अधिकारपत्रको धारकलार्ई नै रीतपूर्वकको धारक मानिनेछ । तर देहायको अवस्थामा रीतपूर्वकको धारक हुँ भन्ने कुरा प्रमाणित गर्ने भार धारक माथि नै हुनेछ ः– (१) प्रचलित कानून अनुसार स्वामित्व भएको वा राखेको व्यक्तिबाट कुनै अपराध गरी वा जालसाजी गरी विनिमेय अधिकारपत्र प्राप्त गरेको भएमा, (२) लेख्ने वा खिच्ने वा स्वीकार गर्ने व्यक्तिबाट कुनै अपराध गरी वा जालसाजी गरी वा गैरकानूनी तवरबाट विनिमेय अधिकारपत्र प्राप्त गरेको भएमा । (छ) अनादर गरिएको विनिमेय अधिकारपत्र सम्बन्धी मुद्दामा अनादर गरेको कुरा नोटरी पब्लिकद्वारा प्रमाणित गराइएको भए, त्यस्तो कुरालार्ई अनादर गरेको हो भन्ने अदालतले मान्नेछ ।