नियम १६०
मुद्दाको अनुसन्धान र दायरी
: (१) ऐनको दफा २७ अन्तर्गतको कुनै कसूरको अभियोग लागेको सशस्त्र प्रहरी कर्मचारी उपर अनुसन्धान गरी मुद्दा दायर गर्न सशस्त्र प्रहरी निरीक्षक वा सोभन्दा माथिल्लो दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई प्रधान कार्यालयले अनुसन्धान अधिकृत तोक्न    सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको अनुसन्धान अधिकृतले अभियोग लागेको सशस्त्र प्रहरी कर्मचारीलाई ऐनको दफा २९ बमोजिमको रीत पुर्‌याई गिरफ्तार गरी हिरासतमा राख्दा अनुसूची–१७ बमोजिमको ढाँचामा थुनुवापूर्जी दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतले अपराधसँग सम्बन्धित चीज, बस्तु तथा दसी प्रमाणहरु खानतलासी गरी प्राप्त गर्ने, सनाखत गराउने, अभियुक्तको बयान गराउने, सम्बन्धित व्यक्तिहरुसँग घटनाको विवरण सम्बन्धी कागज गराउने तथा घटनाको वस्तुस्थिति मुचुल्का बनाउने कार्य गरी मिसिल संलग्न राख्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम गिरफ्तार गरी हिरासतमा राखिएको अभियुक्तलाई अनुसन्धानको लागि बाटाको म्याद बाहेक २४ घण्टाभन्दा  बढी थुनामा राख्न हुँदैन । अनुसन्धानको लागि थुनामा राखिएको अभियुक्तको २४ घण्टा भित्र अनुसन्धान पूरा नहुने भई थप अवधि थुनामा राख्नुपर्ने देखिएमा अनुसन्धान गर्ने अधिकृतले निजलाई सशस्त्र प्रहरी बिशेष अदालतमा उपस्थित गराई सो अदालतबाट अनुमति लिएर मात्र थुनामा राख्नु पर्नेछ । यसरी अदालतसमक्ष अनुमति माग्दा थुनामा परेको व्यक्ति उपरको अभियोग, त्यसको आधार, निजलाई थुनामै राखी अनुसन्धान गर्नु पर्ने कारणसमेत खुलाई अनुमति माग गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम अनुमति मागेकोमा सशस्त्र प्रहरी विशेष अदालतले सम्बन्धित कागजातहरु हेरी अनुसन्धान सन्तोषजनक लागेमा एकै पटक वा पटक पटक गरी बढीमा पच्चीस दिनसम्म थुनामा राख्न आदेश दिन सक्नेछ ।
(६) अनुसन्धान अधिकृतले अनुसन्धान पूरा भएपछि अनुसूची–१८ बमोजिमको ढाँचामा अभियोग पत्र तयार गरी दशी प्रमाण तथा अपराधसँग सम्बन्धित चीज वा वस्तु, थुनुवा भए थुनुवा सहित म्यादभित्रै सशस्त्र प्रहरी बिशेष अदालतमा मुद्दा दायर गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम दायर गरेको मुद्दाको एक प्रति अभियोगपत्र सहितको नक्कल मिसिल सम्बन्धित सरकारी वकीलको कार्यालयमा पठाउनु पर्नेछ र त्यस्तो मुद्दामा सशस्त्र प्रहरी बलको तर्फबाट सरकारी वकीलले प्रतिरक्षा तथा पुनरावेदन सम्बन्धी कार्य गर्नेछ ।