दफा ४६
वार्षिक प्रतिवेदन
(१) राष्ट्रिय खेल संघ वा महासंघले प्रत्येक वर्ष आफूले सम्पादन गरेका काम, कारबाही तथा आय-व्ययको विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी त्यस्तो आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र परिषद्मा पेश गर्नु पर्नेछ ।
(२) परिषद्ले प्रत्येक वर्षको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त परिषद्ले वर्ष भरिमा सम्पादन गरेका काम, उपलब्धि, त्यस्ता कामको लागि गरेको खर्च, परिषद्को कोष तथा स्रोत साधनको अवस्था, खेलकुदको क्षेत्रमा देखिएका समस्या र सोको समाधानका उपाय तथा प्रत्येक संघले गरेका मुख्य काम कारबाही, आय र व्ययको संक्षिप्त विवरण समेत उल्लेख गर्नु पर्नेछ।

(४) उपदफा (२) बमोजिमको परिषद्को वार्षिक प्रतिवेदन अध्यक्षले संरक्षक समक्ष पेश गर्नेछ।

(५) संघ तथा परिषद्ले उपदफा (१) वा (२) बमोजिम पेश गरेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गर्नु पर्नेछ ।