दफा २४
सनाखत गराउनु पर्ने
(१) कुनै मुद्दामा कुनै ब्यक्तिको सनाखत गराउनु पर्ने भएमा कम्तीमा प्रहरी नायब निरीक्षक दर्जाको प्रहरी कर्मचारीले सनाखत गराउनु पर्नेछ ।
तर सनाखत नगराएकै कारणबाट मात्र मुद्दाको काम कारबाहीमा कुनै तात्विक असर पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम सनाखत गराउँदा सनाखत गर्नु पर्ने ब्यक्तिलाई देख्न र हेर्न नपाउने ठाउँमा राख्नु पर्नेछ र त्यस्तो ब्यक्तिसँग मिल्दाजुल्दो उमेर, वर्ण वा शारीरिक स्वरुप भएको कम्तीमा चार जना ब्यक्तिलाई सम्भव भएसम्म एकै किसिमको पहिरन गराई निजहरुसँग सनाखत गर्नु पर्ने ब्यक्तिलाई राखी सनाखत गर्ने प्रत्येक ब्यक्तिलाई छुट्टाछुट्टै सनाखत गराउनु पर्नेछ ।
(३) सनाखतको ढाँचा अनुसूची–१७ मा उल्लेख भए बमोजिम हुनेछ ।
(४) उपदफा (२) बमोजिम सनाखत गराउँदा सनाखत गर्ने ब्यक्तिले पहिचान गर्न सके वा नसकेको व्यहोरा लेखी मिसिल सामेल राख्नु पर्नेछ ।
(५) मुद्दासँग सम्बन्धित दसी वा चीज वस्तुलाई प्रहरी नायब निरीक्षक दर्जाको प्रहरी कर्मचारीले सनाखत मुचुल्का खडा गरी सनाखत गराउन सक्नेछ ।