नियम ४
समितिको बैठक सम्बन्धी व्यवस्था
(१) समितिको बैठक वर्षको कम्तीमा छ पटक बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) समितिले आवश्यक ठानेमा कुनै विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा ऐनको दफा २९ को उपदफा (३) को खण्ड (ख) र (ग) बमोजिमको सदस्यमध्ये वरिष्ठतम वहालवाला सैनिक अधिकृतले बैठकको अध्यक्षता गर्नेछ र निज पनि अनुपस्थित रहेमा समितिका सदस्यहरूले आफू मध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(५) कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरूको उपस्थिति भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) निर्देशकले समितिको सचिवको रूपमा काम गर्नेछ ।
(८) समितिको बैठकमा भाग लिए वापत समितिको अध्यक्ष, सदस्य र आमन्त्रित विशेषज्ञले समितिले तोके बमोजिमको बैठक भत्ता पाउनेछन् ।