दफा
क्षतिपूर्ति

(१) दफा ३ बमोजिम किसानको नाममा दर्ता हुने जग्गाका सम्बन्धमा सो जग्गाको मालपोतको दश दोब्बरको हिसाबले हुन आउने रकम सम्बन्धित किसानले सम्बन्धित जग्गा धनीलाई एकमुष्ट वा जग्गा दर्ता भएको मितिले पाँच वर्षभित्र पाँच बरावर किस्तासम्मको किस्तावन्दी गरी क्षतिपूर्तिको रूपमा बुझाउनुपर्छ ।

तरः–
(क) किसानले क्षतिपूर्तिको रकम एकमुष्ट बुझाउन कबूल गरेकोमा सो एकमुष्ट रकम र किस्तावन्दीमा बुझाउन कबूल गरेकोमा पहिलो किस्ताको रकम निजको नाममा जग्गा दर्ता हुने बखत सम्ममा र त्यसपछिको प्रत्येक किस्ता अघिल्लो किस्ता बुझाएको मितिले १ वर्ष भित्र बुझाउँदै जानुपर्छ ।

(ख) किसानले कुनै किस्ता सो किस्ता बुझाउनु पर्ने म्याद अगावै जुनसुकै बखत बुझाउन सक्नेछ ।

(२) किसानले क्षतिपूर्तिको रकम बुझाउन जाँदा जग्गाधनीले बुझी नलिएमा सो बुझाउनु पर्ने म्याद गुज्रेको मितिले पन्ध्र दिन भित्र किसानले सो रकम इलाकाको माल अड्डामा धरौट राख्न सक्नेछ र सो बमोजिम किसानले धरौट राख्न ल्याएमा सो माल अड्डाले पनि बुझिलिई निजलाई रसीद दिनुपर्छ ।

(३) उपदफा (२) अन्तर्गत किसानले धरौट राखेमा निजले जग्गाधनीलाई सो क्षतिपूर्तिको रकम बुझाए सरह मानिनेछ ।

(४) उपदफा (२) बमोजिम किसानले क्षतिपूर्तिको रकम धरौट राखेमा सो कुराको सूचना सो माल अड्डाले जग्गाधनीलाई दिनुपर्छ । सो सूचना पाएको मितिले पैंतिस दिन भित्र सो रकम लिन आएमा माल अड्डाले जग्गाधनीलाई बुझाईदिनुपर्छ । सो म्याद भित्र जग्गाधनीले लिन नआएमा सो रकम नेपाल सरकारमा लाग्नेछ ।

(५) पहिलो किस्ता बाहेक उपदफा (१) बमोजिम बुझाउनु पर्ने अन्य किस्ता म्याद भित्र नबुझाएमा सो किसानको नाउँमा दफा ३ बमोजिम दर्ता भएको जग्गा प्रचलित नेपाल कानुनबमोजिम सम्बन्धित माल अड्डाले लिलाम बढाबढ गराउनुपर्छ र सो बमोजिम लिलाम बढाबढ हुँदा उठेको रुपैयाँ जग्गा धनीले पाउनेछ ।