नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ सम्झनु पर्छ ।
(ख) “निर्वाचन कार्यक्रम” भन्नाले नियम ३ बमोजिमको निर्वाचन कार्यक्रम सम्झनु पर्छ ।
(ग) “निर्वाचन चिन्ह” भन्नाले ऐनको दफा ३१ बमोजिम आयोगले निर्धारण गरेको निर्वाचन चिन्ह सम्झनु पर्छ ।
(घ) “निर्वाचन कार्यालय” भन्नाले जिल्ला निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालय सम्झनु पर्छ ।
(ङ) “मतगणना प्रतिनिधि” भन्नाले उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतगणनाको काममा प्रतिनिधित्व गर्नको लागि नियम ४५ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(च) “मतदान केन्द्र” भन्नाले निर्वाचनमा मतदान गर्ने प्रयोजनको लागि ऐनको दफा ३४ बमोजिम आयोगले तोकेको मतदान केन्द्र सम्झनु पर्छ र सो शब्दले मतदान उपकेन्द्रलाई समेत जनाउँछ ।
(छ) “मतदान प्रतिनिधि” भन्नाले उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतदान केन्द्रमा प्रतिनिधित्व गर्नको लागि नियम ४४ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ज) “मनोनयनपत्र” भन्नाले निर्वाचनमा उम्मेदवारीको लागि निर्वाचन अधिकृत समक्ष पेश भएको मनोनयनपत्र सम्झनु पर्छ ।