दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस प्रक्रियामा,–
(क) “सुरक्षित गर्भपतन” भन्नाले मुलुकी ऐन ज्यान सम्बन्धीको महलको २८ख. नं. अनुसार गर्भ तुहाएको नमानिने अवस्थामा गर्न सकिने सुरक्षित गर्भपतन सम्झनु पर्छ ।
(ख) “सेवा” भन्नाले मुलुकी ऐन ज्यान सम्बन्धीको महलको २८ख. नं. मा उल्लिखित व्यवस्थाको अधीनमा रही यस प्रक्रिया बमोजिम उपलब्ध गराइने सुरक्षित गर्भपतन सेवा सम्झनु पर्छ ।
(ग) “चिकित्सक” भन्नाले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम गठन भएको नेपाल मेडिकल काउन्सिलमा नाम दर्ता भई दफा ३ बमोजिम सूचीकृत चिकित्सक सम्झनु पर्छ ।
(घ) “स्वास्थ्यकर्मी” भन्नाले प्रचलित कानुन बमोजिम गठन भएको स्वास्थ्य सेवासँग सम्बन्धित व्यावसायिक परिषद्मा नाम दर्ता भई दफा ३ बमोजिम सूचीकृत स्वास्थ्यकर्मी सम्झनु पर्छ ।
(ङ) “स्वास्य संस्था” भन्नाले स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रचलित कानुन बमोजिम स्थापना भई दफा ५ बमोजिम सूचीकृत भएको स्वास्थ्य संस्था सम्झनु पर्छ र सो शब्दले त्यस्तो स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने स्थान समेतलाई जनाउँछ ।
(च) “सूची” भन्नाले चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको नाम सूचीकृत गर्नको लागि अनुसूची–२ र ५ बमोजिम खडा गरिएको सूची सम्झनु पर्छ ।
(छ) “नजिकको नातेदार” भन्नाले सम्बन्धित गर्भवती महिलाको पति, आमा, बाबु, सासू, ससूरा, उमेर पुगेको दाजू, भाई, दिदी, बहिनी, छोरा, छोरी, भतिजा, भतिजी, काका, काकी, मामा, माइजू सम्झनु पर्छ र सो शब्दले तत्कालको संरक्षक समेतलाई जनाउँछ ।
(ज) “विभाग” भन्नाले नेपाल सरकारको स्वास्थ्य सेवा विभाग सम्झनु पर्छ ।
(झ) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
(ञ) “सम्बद्ध अधिकारी” भन्नाले महानिर्देशक वा निजले तोकेको अधिकारी वा जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख सम्झनु पर्छ ।
(ट) “समिति” भन्नाले दफा १३ बमोजिम गठन भएको सुरक्षित गर्भपतन सेवा परामर्श समिति सम्झनु पर्छ ।