विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा :–
(क) “ऐन” भन्नाले उपभोक्ता संरक्षण ऐन, २०५४ सम्झनु पर्छ ।
(ख) “मन्त्रालय” भन्नाले नेपाल सरकार, आपूर्ति मन्त्रालय सम्झनु पर्छ ।
(ग) “कार्यालय” भन्नाले नेपाल सरकार, आपूर्ति मन्त्रालय निरीक्षण अधिकृतको कार्यालय सम्झनु पर्छ ।
(घ) “उजुरी” भन्नाले देहायका कुनै विषयका सम्बन्धमा उजुरवालाले लिखित रूपमा गरेको दावी सम्झनु पर्छ :–
(१) अनुचित व्यापारिक क्रियाकलापसँग सम्बन्धित कुनै काम कारबाहीमा कुनै व्यापारी संलग्न रहेको ।
(२) उजुरवालाले खरिद गरेको वा खरिद गर्न मञ्जुर गरेको कुनै उपभोग्य वस्तु कमसल भएको ।
(३) उजुरवालाले प्राप्त गरेको वा प्राप्त गर्न मञ्जुर गरेको सेवामा कुनै किसिमको त्रुटी वा कमी रहेको ।
(४) निर्धारित मूल्य भन्दा बढी मूल्य लिई उपभोग्य वस्तु वा सेवा बिक्री वितरण वा प्रदान गरेको वा गर्ने नियत राखेको ।
(५) उपभोक्ताको जीउ, ज्यान, सम्पत्तिमा खतरा वा जोखिम पुग्ने वा पुग्न सक्ने किसिमका उपभोग्य वस्तु बिक्री वितरण गरेको वा गर्ने नियत राखेको ।
(६) ऐन, यस नियमावलीमा वा अन्य प्रचलित कानूनको विपरित उपभोक्ताको हक हितमा प्रतिकूल असर पर्ने किसिमको कुनै काम कारबाहीमा कुनै व्यक्ति वा संस्थाको संलग्नता रहेको ।
(ङ) “उजुरवाला” भन्नाले उजुरी गर्ने देहायका कुनै व्यक्ति वा संस्था सम्झनु पर्छ :–
(१) उपभोक्ता,
(२) उपभोक्ता संस्था,
(३) नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कुनै संस्था।
(४) एकै प्रकृतिका सामूहिक हितसँग सम्बन्धित एक वा एक भन्दा बढी उपभोक्ता ।
(च) “सम्बन्धित व्यक्ति” भन्नाले उपभोग्य वस्तु उत्पादन गर्ने, बिक्री वितरण गर्ने, आयात गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्ता व्यक्तिहरूको अधिकृत प्रतिनिधिलाई समेत जनाउँछ ।