दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “मदिरा” भन्नाले अन्न, फलफूल वा अन्य कुनै स्टार्चयुक्त वस्तुलाई जीव रासायनिक प्रक्रियाद्वारा कुहाई वा अन्य कुनै तरीकाबाट तयार पारिएको अल्कोहलयुक्त पदार्थ सम्झनु पर्छ र सो शब्दले रक्सी, जाँड, छ्याङ, व्हिस्की, रम, जीन, ब्राण्डी, भोड्का, बियर, वाइन, सेरी, सेम्पेन, साइडर, पेरी, मिड, माल्टन, औद्योगिक अल्कोहल, रेक्टिफाइड स्प्रिट, माल्ट स्प्रिट, साइलेण्ट स्प्रिट, डिनेचर्ड स्प्रिट र हेड्स स्प्रिट समेतलाई जनाउँछ ।

(ख) “उत्पादन” भन्नाले मदिरा तयार गर्नका लागि आवश्यक पदार्थ कुहाउने, तताउने, पकाउने वा त्यस्तो पदार्थमा बास्ना वा स्वाद आउने गरी कुनै कुराको सम्मिश्रण गर्ने वा मदिरा तयार गर्नको लागि अपनाइने सबै वा कुनै विधि वा कार्य सम्झनु पर्छ ।

(ग) “अनुमतिपत्र” भन्नाले दफा ६क. बमोजिम मदिरा उत्पादन, बिक्री वितरण निकासी वा पैठारी गर्न दिइएको अनुमतिपत्र सम्झनु पर्छ ।

(घ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।