१. भूमिका
विश्वको आर्थिक संरचनामा आएको परिवर्तनको लहरले साना ठूला सबै राष्ट्रहरू प्रभावित भएका छन् । यस परिवर्तन अनुकूल आ–आफ्नो अर्थव्यवस्थालाई समायोजन गर्ने क्रममा छिमेकी मुलुकले पनि खुला र उदार नीति अपनाएर आफ्नो आर्थिक विकास प्रक्रियालाई गतिशिल बनाउन अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा समयानुकूल परिवर्तन एवं सुधार गर्नु जरुरी भइसकेको छ । यसै परिप्रेक्ष्यमा विदेशी लगानीले नेपालजस्तो मुलुकको आर्थिक विकासको क्रममा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने हुँदा समयसापेक्ष, उदार एवं खुला नीति बनाई विदेशी लगानीलाई आकर्षित गर्न सजग हुने बेला भइसकेको छ । यसको निम्ति जननिर्वाचित सरकार शुरुदेखि नै बचनबद्ध रहेको छ । विदेशी लगानीबाट प्राप्त गर्न खोजिएका उद्देश्य, लगानीको स्वरूप, प्रक्रियागत पक्ष, सुविधा तथा सहुलियत एकद्वार प्रणालीबाट उपलब्ध गराइने छिटोछरितो प्रक्रियात्मक र संस्थागत सेवा जस्ता पक्षहरू स्पष्ट गरी विदेशी लगानीको माध्यमबाट राष्ट्र लाभान्वित हुन सक्ने अवधारणा लिएर यो नयाँ नीति प्रस्तुत गरिएको छ । यसको कार्यान्वयनबाट पूँजी, आधुनिक प्रविधि, व्यवस्थापन र प्राविधिक सीप, अन्तर्राष्ट्रिय बजारमा पहुँच, प्रतिस्पर्धामूलक व्यावसायिक धारणाको विकास, उत्पादकत्व अभिवृद्धिप्रति जागरुकता जस्ता व्यावसायिक गुणहरू
राष्ट्रमा भित्रिन गई विशेष गरी निजी क्षेत्रमा औद्योगिक संस्कृतिको विकास हुन सघाउ पुग्न जाने विश्वास गरिएको छ ।