नियम २६
संचयकोष
: (१) स्थायी कामदार वा कर्मचारीले खाईपाई आएको तलबबाट प्रत्येक महिनामा पाँच प्रतिशत रकम कट्टा गरी चियाबगानले सो मा शत प्रतिशत रकम थपी निजको नाममा उपनियम (२) बमोजिमको संचयकोषमा जम्मा गर्नु पर्नेछ ।
(२) उपनिय (१) बमोजिमको रकम जम्मा गर्न प्रत्येक चियाबगानको व्यवस्थापकले आफ्नै चियाबगानमा एउटा छुट्टै संचयकोष खडा गर्नु पर्नेछ । तर चियाबगानले कर्मचारी संचयकोष ऐन २०१९ बमोजिम स्थापित संचयकोषमा आफ्नो कामदार वा कर्मचारीको नाममा छुृट्टा छुृट्टै खाता
खोली त्यस्तो संचित रकम जम्मा गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम चियाबगानले आफ्नो छुट्टै संचयकोष खडा गरेमा प्रत्येक कामदार वा कर्मचारीको छुट्टा छुट्टै हिसाब देखिने गरी राख्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम खडा भएको संचयकोषको संचालन श्रम सम्बन्ध समिति रहेकोमा सोही समितिले र त्यस्तो समिति नरहेको अवस्थामा व्यवस्थापक, कामदार तथा कर्मचारीहरुको प्रतिनिधि समावेश भएको समितिले त्यस्तो कोषको संचालन गर्नेछ । कल्याणकारी
अधिकृत भएको चियाबगानमा त्यस्तो अधिकृतले सो समितिको सदस्य सचिवको रुपमा काम गर्नेछ ।
(५) उपनियम (१) बमोजिम कुनै कामदार वा कर्मचारीको नाममा संचयकोषमा जम्मा रहेको सम्पूर्ण रकम त्यस्तो कामदार वा कर्मचारीले चियाबगानको सेवाबाट अवकाश नपाई झिक्न पाउने छैन ।
(६) कुनै कामदार वा कर्मचारीको सेवा अवधिमा मृत्यु भएमा निज कामदार वा कर्मचारीको संचयकोषमा जम्मा भएको रकम निज कामदार वा कर्मचारीले इच्छाएको व्यक्ति भएमा सोही व्यक्तिलाई र निजले इच्छाएको व्यक्ति नभएमा वा निजले इच्छाएको व्यक्तिको पनि
मृत्युभएमा निज मृत कामदार वा कर्मचारीको परिवारका सदस्यहरु मध्ये सवैभन्दा नजिकको हकवालाले पाउनेछ । त्यस्तो हकवाला एक भन्दा बढी भएमा सबै हकवालाले मृत कामदार वा कर्मचारीको नाममा संचयकोष जम्मा भएको रकमबाट दामासाहीको हिसाबले पाउनेछन ।
(७) यस नियम बमोजिम संचयकोषमा जम्मा रहेको रकमबाट चियाबगानको विनियम अनुसार बढीमा पचास प्रतिशत रकम सम्म सम्बन्धित कामदार वा कर्मचारीले ऋण लिन सक्नेछ । यसरी कामदार वा कर्मचारीले लिएको ऋण रकम चुक्ता नभएसम्म त्यस्तो कर्मचारीको
मासिक पारिश्रमिकबाट एक चौथाई रकम कट्टी गरी ऋण रकम चुक्ता गर्नु पर्नेछ ।