दफा ७क
काउन्सिलको काम, कर्तव्य र अधिकार

(१) काउन्सिलको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) चिकित्साशास्त्र अध्ययन अध्यापन गराइने तथा तालिम दिने दिलाउने मेडिकल कलेजलाई तोकिएबमोजिम मान्यता दिने ।

(ख) चिकित्साशास्त्र अध्ययन अध्यापन गराउने तालिम दिने दिलाउने मेडिकल कलेजको पाठ्यक्रम भर्नाका शर्तहरू तथा परीक्षा प्रणाली सम्बन्धी तोकिए बमोजिमको नीति तथा अन्य आवश्यक पूर्वाधारहरू तथा मापदण्ड सम्बन्धी कुराहरूको मूल्याङ्कन र पुनरावलोकन गर्दा सो बमोजिम नभएको ठहर भएमा दर्ता तथा स्वीकृति खारेजीको लागि सिफारिस गर्ने ।

(ग) चिकित्सा व्यवसाय सुचारु रूपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने ।

(घ) चिकित्सकहरूको योग्यता निर्धारण गरी योग्यता पुगेका चिकित्सकहरूको तोकिए बमोजिमको दर्ता प्रमाणपत्र परीक्षा  लिई दर्ता प्रमाणपत्र दिने ।

(ङ) चिकित्सकहरूको तोकिएबमोजिम आचार संहिता तयार गर्ने र त्यस्ता आचार संहिता उल्लङ्घन गर्ने चिकित्सक उपर तोकिएबमोजिम कारबाही गरी दर्ता किताबबाट नाम हटाउने ।

(२) नेपाल सरकारले नेपालमा कुनै मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने स्वीकृति दिनु पूर्व काउन्सिलसँग परामर्श माग गर्नेछ र काउन्सिलले त्यस्तो मेडिकल कलेजले
उपदफा (१) को खण्ड (ख) बमोजिम मापदण्ड तथा पूर्वाधार पूरा गरे नगरेको जाँचबुझ गरी पूरा गरेको देखिएमा मात्र काउन्सिलले मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्न स्वीकृति दिने सम्बन्धमा परामर्श दिनेछ र काउन्सिलको त्यस्तो परामर्शको आधारमा नेपाल सरकारले मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने स्वीकृति दिनेछ ।