नियम ५७
घर विदा
(१) निजामती कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले घर विदा पाउनेछ ।
तर हिउंदे वा वर्षे विदा लिन पाउने निजामती कर्मचारीले यस नियम बमोजिमको घर विदा पाउने छैन ।
(२) यो नियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र लिएको भैपरी आउने र पर्व विदा, बिरामी
विदा, प्रसूति विदा, प्रसूति स्याहार विदा, किरिया विदा र सार्वजनिक विदालाई समेत जनाउनेछ ।
(३) घर विदामा बस्दा निजामती कर्मचारीले पूरा तलब पाउनेछ ।
(४) निजामती कर्मचारीले आफूले पकाएको घरविदा एकसय असी दिनसम्म संचित गरी राख्न पाउनेछ ।
(५) कुनै कारणले निजामती कर्मचारी सेवाबाट अलग भएमा निजको संचित रहेको घर विदा बापत निजको पदाधिकार रहेको
पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(६) संचित रहेको घर विदाको रकम लिन नपाउंदै कुनै निजामती कर्मचारीको मृत्यु भएमा त्यस्तो संचित घर विदाको रकम
ऐनको दफा ३९ को उपदफा (५) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।
(७) हिउंदे वा वर्षे विदा लिन पाउने निजामती कर्मचारीलाई उक्त विदा नपाउने गरी काममा खटाइएमा त्यस्तो काममा
खटाउने कार्यालयले त्यस्तो निजामती कर्मचारीलाई उक्त विदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको दरले हुन
आउने रकम दिनु पर्नेछ ।
(८) घर विदा, अध्ययन विदा वा असाधारण विदामा बसेका निजामती कर्मचारीले सो अवधिभरको घर विदा पाउने छैन ।
(९) निजामती कर्मचारीले वर्षको एक पटक कम्तीमा सात दिन घर विदा लिई घर जांदा र घर विदा भुक्तान गरी घरबाट
आफ्नो कार्यालयमा आउंदा पैदलको बाटोलाई आठ कोशको निमित्त एक दिनको दरले हुने दिन तथा मोटर, रेल, हवाइजहाजको
बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ ।