दफा १५
निजामती कर्मचारीको पदस्थापन
(१) निजामती कर्मचारीलाई पदस्थापन गर्दा निजको शैक्षिक योग्यता तालिम र अनुभवको आधारमा गरिनेछ ।
तर राजपत्रांकित प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा पदस्थापन सामान्य प्रशासन मन्त्रालयको सहमतिबमोजिम गरिनेछ । सामान्य प्रशासन मन्त्रालयले त्यस्तो पदमा पदस्थापनको लागि सहमति दिंदा सम्बन्धित मन्त्रालयसंग समन्वय गरी उल्लिखित कुराहरूको अतिरिक्त सो पदमा नेतृत्व बहन गर्न सक्ने क्षमता भएको कर्मचारीहरूमध्येलाई सहमति प्रदान गर्नेछ ।
(२) कुनै पनि निजामती कर्मचारीलाई तोकिएको विभागीय प्रमुख, कार्यालय प्रमुख वा अन्य पदमा पदस्थापन वा सरुवा गर्दा नेपाल सरकारले त्यस्तो पदमा रही गर्ने कार्यहरूको प्रशासकीय कार्यप्रकृतिअनुसार कार्य विवरणको अधीनमा रही सम्बन्धित पदाधिकारीसँग कार्यसम्पादन सम्झौता गरी पदस्थापन वा सरुवा गर्न सक्नेछ ।
(३) नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव वा सो सरहको पद र केन्द्रीय निकायको विभागीय प्रमुखको पदमा बहालवाला पदाधिकारीसँगै रही काम गर्न र बरबुझारथ गराउन पन्ध्र दिनसम्मको लागि विशेष पद स्वतः सिर्जना गरी बहालवाला पदाधिकारी अवकाश हुनु अगावै पदस्थापन गराउन सकिनेछ ।
(४) पदस्थापनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।