दफा
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “निजामती सेवा” भन्नाले दफा ३ बमोजिम गठित निजामती सेवा सम्झनुपर्छ ।
(ख) “निजामती कर्मचारी” भन्नाले निजामती सेवाको पदमा बहाल रहेको व्यक्ति सम्झनुपर्छ ।
(ग) “अख्तियारवाला” भन्नाले दफा ९ बमोजिम नियुक्ति गर्न सक्ने अधिकारी सम्झनुपर्छ ।
(ग१) “स्थायी आवासीय अनुमति” भन्नाले विदेशी मुलुकले कुनै शर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमगे्रन्ट भिसा (डि.भी.), परमानेन्ट रेजिडेन्ट भिसा (पि.आर.) वा ग्रीन कार्ड सम्झनु पर्छ र सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ ।
(घ) “परिवार” भन्नाले निजामती कर्मचारीप बस्ने तथा निज आफैले पालन पोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनुपर्छ र सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीकोहकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासू, ससुरालाई समेत
जनाउँछ ।
(ङ) “विभागीय प्रमुख” भन्नाले तोकिएको अधिकारी सम्झनुपर्छ ।
(च) “कार्यालय प्रमुख” भन्नाले तोकिएको कार्यालयको प्रमुख कर्मचारी सम्झनुपर्छ ।
(छ) “स्थायी पद” भन्नाले निवृत्तिभरण पाउने र म्याद नतोकिएको निजामती सेवाको पद सम्झनुपर्छ ।
(ज) “विशेषज्ञ पद” भन्नाले विशेष प्रकृतिको काम, कर्तव्य र उत्तरदायित्व भएको र विशेष योग्यता चाहिने पद सम्झनुपर्छ ।
(ज१) “निजामती कर्मचारीको ट्रेड युनियन” भन्नाले दफा ५३ को उपदफा (१) अन्तर्गत गठित निजामती कर्मचारीको ट्रेड युनियन सम्झनुपर्छ ।
(ज२) “निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन” भन्नाले दफा ५३ को उपदफा (३) बमोजिम गठित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन सम्झनुपर्छ ।
(झ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐनअन्तर्गत बनेका नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।