दफा १९
बढुवा
(१) नेपाल न्याय सेवाको राजपत्रांकित पदमा बाहेक अन्य निजामती सेवाको राजपत्रांकित पदमा बढुवा गर्दा दफा २० बमोजिमको बढुवा समितिको सिफारिसमा गरिनेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्रांकित विशिष्ट श्रेणीको पदमा देहायबमोजिम बढुवा गरिनेछः–
(क) राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा
बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र
कार्यकुशलताको आधारमा छनौट गरी बढुवा गर्नेछ ।
(ख) राजपत्रांकित विशिष्ट श्रेणीको सचिव वा सो सरहको पदमा भए ः–
(१) रिक्त पदमध्ये बीस प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनमा औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेका र सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा सबैभन्दा बढी सेवा अवधि भएको सम्भाव्य उम्मेदवारलाई बढुवा समितिको सिफारिसमा नेपाल सरकारले बढुवा गर्नेछ ।
(२) रिक्त पद मध्ये असी प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सम्बन्धित सेवाका सम्भाव्य उम्मेदवारहरु मध्येबाट उपलब्ध भएसम्म रिक्त पदको
तेब्बर संख्यामा बढुवा समितिले सिफारिस गरेका उम्मेदवारहरु मध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठह¥याएको उम्मेदवारलाई बढुवा गर्नेछ ।
तर, कुनै सेवामा तेब्बर संख्यामा सम्भाव्य उम्मेदवार नभएको अवस्थामा तेब्बर भन्दा कम संख्यामा उम्मेदवार सिफारिस गर्न बाधा पुर्याएको मानिने छैन ।
(२क) उपखण्ड (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा देहाय
बमोजिमका कर्मचारीहरुबाट बढुवा गरिनेछ :-
(अ) नेपाल कृषि तथा वन सेवाको पदमा नेपाल कृषि सेवा र नेपाल वन सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरु र
(आ) नेपाल प्रशासन सेवाको पदमा नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल प्रशासन सेवा, नेपाल विविध
सेवा र नेपाल शिक्षा सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरु ।
(३) यस खण्ड बमाजिम बढुवा समितिले सिफारिस गर्दा पहिले उपखण्ड (१) बमोजिमको सिफारिस गरेपछि उपखण्ड (२) बमोजिमको सिफारिस गर्नेछ ।
(४) यस खण्ड बमोजिम पदपूर्तिको लागि लोक सेवा आयोगले पदसंख्या निर्धारण गर्नेछ ।
(ग) सचिव वा सो सरहको विशिष्ट श्रेणीको पदमा सम्भाव्य उम्मेदवार हुन
राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीले नेपाल सरकारले तोकेको
उच्चस्तरीय व्यवस्थापन तालिमसमेत उत्तीर्ण गरेको हुनुपर्नेछ ।
तर यो दफा प्रारम्भ भएपछि एक वर्षभित्र हुने बढुवामा यो व्यवस्था लागू हुने छैन ।
(घ) खण्ड (ख) बमोजिमको विशिष्ट श्रेणीको बढुवाको लागि कार्यसम्पादन मूल्यांकनको गणना गर्दा बढुवा हुन जति वर्षको न्यूनतम सेवा अवधि
आवश्यक पर्ने हो, पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्यांकनको गणना गरिनेछ ।
तर यो दफा प्रारम्भ भएपछि संवत् २०६४ साल कार्तिक मसान्तभित्र बढुवा गर्दा संवत् २०६३ साल आषाढ मसान्तसम्मको महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको
क्षेत्रमा स्थायी बसोबास भएका कर्मचारीको हकमा पछिल्लो तीन वर्ष र अन्यको हकमा पछिल्लो चार वर्षको कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा गरिनेछ ।
(ङ) निजामती सेवाको विशिष्ट श्रेणीको कुनै पनि पद रिक्त भएको मितिले पन्ध्र दिन भित्र सम्भाव्य उम्मेदवारको सिफारिस गर्नु पर्नेछ र सिफारिस भएको मितिले पन्ध्र दिनभित्र रिक्त पदमा पदपूर्ति गर्नु पर्नेछ ।