नियम ५
सूचीबाट हटाउने
(१) ऐनको परिच्छेद–६ख. अन्तर्गत सूचीकृत कुनै व्यक्ति, समूह वा संगठनले आफ्नाे नाम सो सूचीमा समावेश हुनु नपर्ने आधार र कारण सहित उक्त सूचीबाट आफ्नो नाम हटाउन अनुसूची–२ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष
निवेदन दिन सक्नेछ । तर ऐनको दफा २९ङ. बमोजिमको सूचीमा समावेश भएको व्यक्ति, समूह वा संगठनले त्यस्तो निवेदन परराष्ट्र मन्त्रालय मार्फत मन्त्रालयमा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा मन्त्रालयले देहाय बमोजिम आवश्यक जाँचबुझ गर्नु पर्नेछः–
(क) निवेदकको नाम ठेगाना सूचीसँग मिले वा नमिलेको,
(ख) निवेदक सूचीको विषयसँग सम्बन्धित भए वा नभएको ।
(३) मन्त्रालयले उपनियम (२) बमोजिम जाँचबुझ गर्दा निवेदक सूचीमा रहनु पर्ने नदेखिएमा सोको आधार र कारण सहित निर्णयको लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले कुनै व्यक्ति, समूह वा संगठनको नाम सूचीबाट हटाउने निर्णय गरेमा मन्त्रालयले देहाय बमोजिम गर्नु पर्नेछः–
(क) निवेदक ऐनको दफा २९ङ बमोजिमको सूचीमा समावेश रहेको भएमा निजको नाम उक्त सूचीबाट हटाउनको लागि परराष्ट्र मन्त्रालय मार्फत संयुक्त राष्ट्र संघको सम्बन्धित निकायमा लेखी पठाउने,
(ख) निवेदक कुनै मुलुकबाट अनुरोध भए बमोजिम ऐनको दफा २९च. को उपदफा (३) बमोजिमको सूचीमा सूचीकृत रहेको भएमा निजको नाम सो सूचीबाट हटाई सोको जानकारी परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकलाई दिने,
(ग) निवेदकलाई नेपाल सरकार आफैंले ऐनको दफा २९च. को उपदफा (३) बमोजिमको सूचीमा सूचीकृत गरेको भएमा सो सूचीबाट हटाउने,
(घ) निवेदकलाई नेपाल सरकारको अनुरोधमा विदेशी मुलुकले सूचीकृत गरेको भएमा परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकमा लेखी
पठाउने ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति, समूह वा संगठनको नाम ऐनको दफा २९ङ. र २९च. बमोजिम सूचीकृत गर्दा सूचीमा समावेश हुनु नपर्ने कुनै व्यक्ति, समूह वा संगठनको नाम सूचीकृत भएको पाइएमा मन्त्रालयले त्यस्तो व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाउनु पर्नेछ र त्यस्तो व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का भएको भए सो समेत
तत्काल फुकुवा गर्नु पर्नेछ ।
(६) कुनै व्यक्ति, समूह वा संगठन उपनियम (४) को खण्ड (ख) र (ग) वा उपनियम (५) बमोजिम सूचीबाट हटाइएमा मन्त्रालयले सोको सूचना आफ्नो वेबसाइटमा तत्काल प्रकाशन गर्नु पर्नेछ ।
(७) मन्त्रालयले ऐनको दफा २९ङ., २९च. वा यस नियमावली बमोजिम सूचीकृत व्यक्ति, समूह वा संगठन ऐन वा यस नियमावली बमोजिम सूचीमा रहने नरहने निर्धारण गर्न नियमित रुपमा समिक्षा गर्ने व्यवस्था गर्नेछ ।