२.औचित्य
नेपालमा विद्युत ऊर्जाको उत्पादन तथा खपत ज्यादै कम छ । ऊर्जाको प्रम्ुख स्रोत कृषि तथा वनजन्य स्रोत रहेका छन् । नवीकरणीय ऊर्जाको स्रोतको रूपमा जलविद्युत उत्पादनको सम्भाव्यता प्रचुर मात्रामा रहे तापनि यस स्रोतको वाञ्छित उपयोग हुन सकेको छैन । अधिकांश जनता अझै पनि विद्युत ऊर्जाबाट वञ्चित छन् । विद्युत ऊर्जाको अभावका कारण उद्योग स्रोतबाट उत्पादन हुनसक्ने जलविद्युत ऊर्जाको विकास अपरिहार्य भएको छ । ग्रामीण विद्युतीकरण, ग्राहस्थ ऊर्जाको आपूर्ति, रोजगारी सृजना तथा उद्योग व्यवसायको विकासमा अहं भूमिका राख्ने जलविद्युतको विकास गरी उचित मूल्यमा जलविद्युत ऊर्जाको आपूर्ति गर्न समयसापेक्ष जलविद्युत नीतिको आवश्यकता देखिएको छ । जलविद्युतको विकास गर्दा उपलब्ध जलस्रोतलाई बढीभन्दा बढी उपयोग गर्ने बहुद्देश्यीय योजनाका विकास, लाभको उपयुक्त बाँडफाँड, सार्वजनिक एवम् निजी क्षेत्रको भूमिका, आन्तरिक एवम् बाह्य बजारको उपयोग एवम् निजी क्षेत्रसँग हुने नेपाल सरकारको क्रियाकलापमा स्पष्टता एवम् पारदर्शिता आदि महत्वपूर्ण कुरामा जलविद्युत नीतिले स्पष्ट दिशाबोध गर्नुपर्ने सन्दर्भ महत्वपूर्ण हुन गएको छ । जलविद्युत विकास नीति, २०४९ ले अंगीकार गरेका सिद्धान्त कार्यान्वयन गर्ने क्रममा हासिल भएका अनुभव, विश्व बजारमा देखा परेका नयाँ अवधारणा तथा तिनका असरहरू, प्रविधिको विकास, जलविद्युत ऊर्जाको निर्यात सम्भावना, वैदेशिक लगानीको सम्भावना एवम् वातावरण संरक्षणप्रतिको प्रतिबद्धतासमेतलाई समेटी जलविद्युत नीतिलाई स्पष्ट, पारदर्शी, व्यावहारिक र लगानी सहयोगी तुल्याउन परिमार्जित एवम् परिष्कृत गर्नु जरुरी भएको छ ।